काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या देखिएपछि शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन् ।
मन्त्री घिसिङले स्थानीय प्रतिनिधि र सरोकारवालासँग स्थलगत निरीक्षण गर्दै फोहोर व्यवस्थापन अवरोधको कारणबारे जानकारी लिएका छन् । यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले फोहोर विसर्जन रोक्का गरेका हुन् । उनीहरूले शुक्रबारदेखि फोहोर बोकेका गाडीलाई ल्याण्डफिल साइटमा प्रवेश गर्न दिएका छैनन् ।
धुनबेँशी नगरपालिका–१ का स्थानीय दीपेन्द्र लामाका अनुसार, फोहोर विसर्जन वैज्ञानिक रूपमा व्यवस्थित हुनुपर्ने र विगतका सहमति पालना नभएकाले विरोधमा उत्रिनु परेको हो ।
स्थानीयहरूले काठमाडौं महानगरसँग २०७९ जेठ २६ गते भएको १८ बुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् । उक्त सहमतिअनुसार फोहोर रातिको समयमा मात्र विसर्जन गर्ने, दुर्गन्ध नआउने प्रबन्ध मिलाउने, गाडीबाट लिच्चड नचुहाउने र फोहोर पश्चात लिच्चड खोलामा नपुग्ने गरी वैज्ञानिक व्यवस्थापन गर्ने व्यवस्था गरिएको थियो ।
तर, स्थानीयवासीका अनुसार सहमति कार्यान्वयन नभएकाले उनीहरूले फोहोर फाल्न राेक्ने अडान लिएका छन् ।