वीरगंज महानगरपालिकाको कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर वीरगंज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा ‘हरियो, स्वच्छ र आकर्षक वीरगंज’ अभियानको भव्य शुभारम्भ गरिएको छ ।
आइतबार बिहान वीरगंज महानगरपालिका–१६ मितेरी पुल क्षेत्रबाट सुरु गरिएको उक्त अभियानको प्रमुख उद्देश्य वीरगंजलाई हरियालीयुक्त, प्रदूषणमुक्त र पर्यटनमैत्री सहरको रूपमा विकास गर्नु रहेको आयोजकले बताएका छन् ।
कार्यक्रमको अध्यक्षता ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गरे । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पुरनचन्द्र भट्ट, वीरगंज भन्सार कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारी, सशस्त्र प्रहरी टोली, नगर प्रहरी, वीरगंज महानगरपालिकाका प्रतिनिधिहरू, सामुदायिक प्रहरीका सदस्य तथा स्थानीय सरोकारवाला विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
अभियानको पहिलो दिन मितेरी पुल आसपासको क्षेत्रमा महानगरपालिकाको डोजर प्रयोग गरी बृहत सरसफाइ गरिएको थियो । सो क्रममा सडकछेउका झाडी हटाउने, फोहोर व्यवस्थापन र हरियाली विस्तारका कार्यहरू सम्पन्न गरिएका छन् ।
कार्यक्रमका अध्यक्ष जय प्रकाश खेतानले वीरगंजलाई नेपालको प्रवेशद्वारका रूपमा चिनिँदै आएको उल्लेख गर्दै सहरको सौन्दर्य र स्वच्छतामार्फत वीरगंजको पहिचान बलियो बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘यहाँ दैनिक हजारौँ भारतीय पर्यटक र व्यापारीहरू आउँछन्, त्यसैले सहर सफा, हरियो र आकर्षक हुनुपर्छ । भन्सार क्षेत्रको सौन्दर्यकरण र व्यवस्थापन हाम्रो प्राथमिकता हो ।’
उनका अनुसार ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले सशस्त्र प्रहरी र स्थानीय निकायसँग सहकार्य गर्दै ‘हरियो वीरगंज, स्वच्छ वीरगंज’ अभियानलाई दीर्घकालीन रूपमा अघि बढाउने तयारी गरेको छ । अभियानअन्तर्गत भन्सार क्षेत्र, आदर्शनगर, बाइपास रोड, परवानीपुरदेखि रक्सौलसम्मको सडक किनारामा वृक्षारोपण, फोहोर व्यवस्थापन र स्थायी सरसफाइ कार्यक्रम लागू गरिनेछ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका एसपी पुरनचन्द्र भट्टले समुदायसँग सहकार्यमा यस्तो अभियान सुरु गर्नु सकारात्मक पहल भएको बताए । उनले भने, ‘सशस्त्र प्रहरी बल वातावरणीय संरक्षण र सहरलाई स्वच्छ राख्न सधैं समुदायसँग मिलेर काम गर्न तयार छ ।’