रुपन्देहीको भैरहवास्थित प्रसिद्ध निर्वाणा होटलको गेट अगाडि गएराति गोली चलेको छ ।
गोली लागेर होटलमा कार्यरत एक सुरक्षागार्ड सामान्य घाइते भएका छन् । गोली चलाउने समूह भने हालसम्म फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार घटना गएराति साढे १० बजेतिर भएको हो । उनका अनुसार होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो ।
सो विवाद क्रमशः बढ्दै जाँदा ती समूह बाहिर निस्किएर होटलको गेट अगाडि आइपुगे र त्यहीँ एक समूहले गोली चलाएको थियो । गोली सुरक्षागार्डको तिठी (जाँघ)मा लागेको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते सुरक्षागार्डलाई नजिकैको मेडिकल कलेजमा उपचारका लागि लगिएको हो ।
तीन जना फरार
एसपी क्षेत्रीका अनुसार गोली चलाउने समूहमा तीन जना व्यक्ति संलग्न रहेका छन्, जो अहिले फरार छन् । प्रहरीले घटनास्थल वरिपरिका CCTV फुटेज सङ्कलन गरी ती व्यक्तिहरूको पहिचानमा काम भइरहेको जनाएको छ ।
त्यस्तै, घटनाबारे थप जानकारीका लागि क्यासिनोभित्र रहेका केही व्यक्तिहरूसँग सोधपुछ भइरहेको पनि एसपी क्षेत्रीले जानकारी दिए ।
घटनाको कारणबारे प्रष्ट खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धानले क्यासिनोभित्रको पैसासम्बन्धी विवादका कारण गोली चलेको हुन सक्ने प्रहरीको अनुमान छ ।