लामो समयदेखि बन्द रहेको रिलायन्स स्पिनिङ मिल्सले नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने बिजुलीको बक्यौतामध्ये पहिलो किस्ता बुझाएको छ ।
किस्ता नतिरेसम्म बिजुली लाइन नजोडिने चेतावनीपछि कम्पनीले पहिलो किस्ताबापत २ करोड ७७ लाख रुपैयाँ तिरेको हो । प्राधिकरणका अनुसार कम्पनीले २८ किस्तामा रकम बुझाउने सम्झौता गरेको छ, जसअनुसार पहिलो किस्ता भुक्तानी गरिएको हो ।
रिलायन्सले डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली उपभोग गरेबापत कुल ७५ करोड ३७ लाख रुपैयाँ तिर्न बाँकी थियो। पहिलो किस्ता तिरेपछि पनि करिब ७२ करोड ६० लाख रुपैयाँ बक्यौता अझै बाँकी रहेको प्राधिकरण अधिकारीहरूले जानकारी दिएका छन् ।
किस्ता तिरेसँगै प्राधिकरणले उद्योगको काटिएको बिजुली लाइन पुनः जडान गरेको छ। लाइन पुनः जडान भएपछि लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको उद्योग पुनः सञ्चालनमा आएको छ । कम्पनीका स्रोतका अनुसार बाँकी बक्यौता रकम तिर्न रिलायन्स स्पिनिङ मिल्सले निकट भविष्यमा सार्वजनिक निष्कासन (IPO) मार्फत रकम जुटाउने तयारी गरेको छ । बक्यौता नतिरेकै कारण यसअघि कम्पनीको IPO प्रक्रिया रोकिएको थियो ।
विद्युत प्राधिकरणले लामो समयदेखि बक्यौता तिर्न ढिलाइ गर्ने उद्योगहरूलाई किस्तामा रकम बुझाउने सुविधा उपलब्ध गराउँदै आएको छ । रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ता बुझाएपछि उद्योग क्षेत्रमा पनि सकारात्मक सन्देश गएको प्राधिकरणको मूल्याङ्कन छ ।