

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय दूतावासका प्रतिनिधिहरूमाथि मधेस प्रदेशको राजनीतिक स्थिरतामाथि गलत प्रभाव पार्ने प्रयास गरेको गम्भीर आरोप लगाएका छन् ।
शनिबार प्रदेशवासीको नाममा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वीरगंजस्थित भारतीय दूतावासको काउन्सलर कार्यालयका अधिकारीहरूले विभिन्न दलका नेताहरूलाई दबाब र धम्की दिने जस्ता गतिविधि गर्दै आएको उनले आरोप लगाएका हुन् । उनका अनुसार ती अधिकारीहरूले प्रत्यक्ष रूपमा नेताहरूसँग भेटघाट गरी ‘दल फुटाइदिन्छु’ भन्ने प्रकारका धम्कीसमेत दिने गरेको बताएका छन् । मुख्यमन्त्री यादवले भारतीय दूतावास वीरगंजका काउन्सलर अफिसका प्रतिनिधिहरूले नेताहरूलाई धम्काउने, निर्णयमा हस्तक्षेप गर्ने लगायतको काम गर्दै आएको बताएका छन् ।
यसैगरी उनले आफू तथा सरकारका सदस्यहरू सुरक्षा जोखिममा रहेको जानकारी सुरक्षा निकायले औपचारिक रूपमा दिएको भन्दै खुलासा गरेका छन् । उनका अनुसार विशेष सुरक्षा रिपोर्ट आएपछि कार्यक्रम र गतिविधि सीमित गर्नुपर्ने स्थिति पैदा भएको छ । सुरक्षा चुनौती बढेको भन्दै संवेदनशील भएर काम गर्न सल्लाह आएको उनले बताए ।
मुख्यमन्त्री सराेज यादवका अनुसार मन्त्री तथा प्रदेशसभाका सदस्यहरू समेत सुरक्षा थ्रेटमा रहेका छन् । उनले नेकपा एमाले मधेसको हित गर्ने दल रहेको दाबी गर्दै उनले लोसपा, जसपा नेपाल लगायत दलहरू आफूलाई मधेशवादी भन्ने दल ठग रहेको भन्दै उनले २०७९ को निर्वाचन परिणामले एमाले नै मधेसमा ठोस जनसमर्थन पाएको दल समेत प्रमाणित गरेको बताए । उनका अनुसार मधेशवाद नारामा मात्र होइन, व्यवहार र कार्यशैलीमा देखिनुपर्ने सुझाव दिएका थिए ।