सडक डिभिजन हेटौँडाले २५–२५ गज सडक विस्तारको तयारीसँगै हेटौँडा उपमहानगरपालिकाले बिस्थापित हुने व्यवसायीलाई वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने तयारी गरेको छ । तर वीरगंजमा भने पुनः सडक विस्तारकाे काम धकेलिएकाे छ । पुन सडकमा घर परेकाहरूले मुद्दा दिएपछि तत्कालका लागि सडक विस्तारकाे काम टरेकाे हाे ।
यता हेटाैंडा उपमहानगरपालिकाका अनुसार सडक विस्तारका कारण हट्नुपर्ने व्यवसायीलाई हेटौँडा बसपार्कमा रहेका ४० वटा सटरमा राख्न सकिने र यसको समन्वय मकवानपुर उद्योग वाणिज्य संघमार्फत गर्न सकिने जनाएकाे छ । उपमहानगरपालिकाका मेयर मीनाकुमार लामाले हेटौँडा–११ स्थित तरकारी फलफूल तथा थोक बजारका लागि निर्माण भएका ६० वटा कोठा पनि व्यवसायीको व्यवस्थापनका लागि प्रयोग गर्न सकिने बताइन् । साथै भूटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरसमेत व्यवस्थापनका विकल्पका रूपमा रहेको उनले जानकारी दिइन् ।
उपमहानगरपालिकाले धेरैजसो व्यवसायीलाई हेटौँडा बजार क्षेत्रभित्रै दुई वटा पसलमार्फत व्यवस्थापन गरिसकिएको दाबी गरेको छ । बजार भत्कने हल्लासँगै लामो समयदेखि खाली रहेको नारायणी मल समेत व्यवसायीले बुक गरिसकेका छन्, साथै बजार क्षेत्रमा खाली रहेका सुपर मार्केटका कोठा पनि व्यवस्थापनका लागि उपयुक्त विकल्प हुने जनाइएको छ ।
विस्थापित व्यवसायीलाई पुनःस्थापनाका लागि आवश्यक समन्वय र समर्थन प्रदान गर्न हेटौँडा उपमहानगरपालिकाले मकवानपुर उद्योग वाणिज्य संघलाई आग्रह गरेको छ ।
यसैबीच, सडक डिभिजन हेटौँडाले मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै मंसिर २० गतेदेखि हेटौँडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोकदेखि सामरीसम्मका ५ सय ३१ घर–टहरा हटाउने तयारी गरेको छ । घर–टहरा भत्काउन आवश्यक तयारी गर्दै डिभिजनले मेनरोडस्थित पेट्रोल पम्पलाई इन्धन बिक्री रोक्का आदेशसमेत जारी गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तार कार्यमा अवरोध नगर्न सर्वसाधारणलाई आग्रह गर्दै आवश्यक सहयोग गर्न अपिल गरेको छ ।