वीरगंज । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपाल आँखा उपचार सेवामा गुणस्तरीय र अब्बल हुँदै गएको बताएका छन् । वीरगंज दृष्टि आँखा, नाक, कान तथा घाँटी अस्पतालको नवनिर्मित भवनको आज सम्पन्न उद्घाटन समारोहलाई संबोधन गर्दै उनले नेपालको आँखा उपचार सेवा भारतका उत्तरी राज्यहरूभन्दा समेत प्रभावकारी भएको उल्लेख गरे ।
पूर्व राष्ट्रपति यादवले भने,
“पञ्चायतकालपछि नेपालले आँखा उपचारमा उल्लेखनीय प्रगति गरेको छ। भारतका विहार, उत्तरप्रदेश, बङ्गाललगायत राज्यका बिरामीहरू समेत उपचारका लागि नेपाल आउने तथ्यले हाम्रो स्वास्थ्य सेवाको विश्वसनीयता प्रमाणित गर्छ ।”
विरामीले चिकित्सक र स्वास्थ्यकर्मीप्रति ठूलो भरोसा राखेर अस्पताल आउने बताउँदै उनले सेवामा अझ गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिए ।
“चिकित्सा पवित्र पेसा हो, यो मानव सेवा हो । पैसा कमाउने अरू धेरै पेसा छन् । त्यसैले चिकित्सकहरू मानव हितमा केन्द्रित हुनुपर्छ,” उनले भने ।
अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठका अनुसार नवनिर्मित आधुनिक भवनसहित अस्पतालले आँखा, नाक, कान, घाँटीलगायतका सेवा थप व्यवस्थित रूपमा प्रदान गर्दै आएको छ ।
श्रेष्ठले भने,
“अहिलेसम्म १३ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको छ । एक लाखभन्दा बढी आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । आगामी दिनमा सेवा विस्तार तथा गुणस्तरीय उपचारमा थप लगानी हुनेछ ।”
अस्पतालका मेडिकल निर्देशक हरि शर्माले पैसाको अभावका कारण कोही पनि दृष्टिविहीन हुन नपरोस् भन्ने लक्ष्यसहित उपचार सेवा प्रदान भइरहेको बताए ।
कार्यक्रमका दौरान आँखासम्बन्धी विशेषज्ञ चिकित्सक राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सम्मानित गरिएको थियो ।
अस्पतालका अध्यक्ष विश्वराज गौतमले आधुनिक संरचना र दक्ष जनशक्तिमार्फत बिरामीमैत्री सेवा प्रवाहमा अस्पताल प्रतिबद्ध रहेको बताए ।