सामुदायिक रेडियो नारायणी एफएमको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न रेडियो तथा पत्रकारिता अध्ययनरत क्याम्पसका विद्यार्थीहरूको सहभागितामा प्रतियोगिता आयोजना गरिएको हो ।
वीरगंज महानगरपालिका–१६, लिंक रोडमा अवस्थित नारायणी एफएमले विगत दुई दशकदेखि समाचार, सूचना तथा जनचेतनामूलक कार्यक्रममार्फत समाजमा सचेतना फैलाउँदै आएको छ । २०औँ वार्षिकोत्सवको अवसरमा सञ्चार क्षेत्रमा नयाँ जनशक्ति प्रोत्साहित गर्ने उद्देश्यसहित समाचार वाचन प्रतियोगिता आयोजना गरिएको नारायणी एफएमले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले विजयी प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उनले स्थानीय सञ्चार माध्यमले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवर्द्धन र नागरिकको आवाज बुलन्द गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नारायणी एफएमले समुदायसँग जोडिएर गरेका कार्यक्रमहरूको प्रशंसा गरेका थिए ।
समाचार वाचन प्रतियोगितामा पत्रकार माधव तिम्लसेनाले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम पुरस्कार हात पारेका छन्र भने, उनले नगद रु. २० हजार रूपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । दोश्रो पुरस्कार पत्रकार लक्ष्मी खरेलले प्राप्त गरेकि छन्, भने उनले नगद रु. १५ हजार रूपैयाँ सहित पुरस्कार प्राप्त गरेकी छन् । यस्तै तृतीय पुरस्कार पत्रकार सूर्यनारायण विकले प्राप्त गर्दै नगद रु. १० हजार रूपैयाँ सहित पुरस्कार प्राप्त गरेकी छन् ।
यसैगरी सान्त्वना पुरस्कारतर्फ विमला गुप्ता, सुरेश विडारी र आर्जु देवकोटाले जनही रु. ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको मूल्याङ्कन पत्रकारिता तथा सञ्चार क्षेत्रका अनुभवी व्यक्तिहरूबाट गरिएको थियो । निर्णायक मण्डलमा प्रतिमा चौधरी, सन्तोष देउजा र लक्ष्मण कार्की रहेका थिए । प्रतियोगितामा समाचार उच्चारण, भाषा, प्रस्तुति शैली, समय व्यवस्थापन र आत्मविश्वासका आधारमा मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रम नारायणी एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण एफएमका निर्देशक शिवनाथ यादवले गरेका थिए ।
कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक सुधीप राज पाठक, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, उद्योगी तथा लेखक गणेश लाठलगायत पत्रकार, सञ्चारकर्मी, समाजसेवी र श्रोताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नारायणी एफएमले आगामी दिनमा पनि स्थानीय पत्रकारिता सशक्त बनाउने कार्यक्रम, क्षमता विकास तालिम तथा समुदाय केन्द्रित प्रसारणलाई निरन्तरता दिने जनाएको छ ।





