अवलोकनका क्रममा एनसेलका अध्यक्ष सतिशलाल आचार्य र प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले मन्त्री खरेललाई जेनजी आन्दोलनका क्रममा कम्पनीलाई भएको क्षतिबारे जानकारी गराएका थिए ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा तोडफोड, लुटपाट तथा आगजनी भएपछि ठूलो क्षति पुगेको थियो । सो घटनापछि एनसेलले हाल नक्खुस्थित कार्यालयबाट सेवा प्रवाह गरिरहेको जनाएको छ । एनसेलका अनुसार आन्दोलनका क्रममा देशभर विभिन्न स्थानमा गरिएको तोडफोड र आगजनीबाट करिब ६५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
कार्यालय अवलोकनपछि मन्त्री खरेलले एनसेलमा भएको क्षतिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन आफू आएको बताएका छन् । उनले एनसेलले जेनजी तथा विद्यार्थी केन्द्रित नयाँ ‘प्याक’ ल्याउने तयारी गरिरहेको सुन्दा खुसी लागेको उल्लेख गरे । मन्त्री खरेलले भने, “मैले उहाँहरूलाई विद्यार्थी र जेनजीलाई लक्षित गरी केही योजना ल्याउनुहोस् भनेको थिएँ । उहाँहरूले नयाँ प्याकेज ल्याउने र त्यसका साथै सगरमाथा आधार शिविर तथा केही दुर्गम स्थानमा टेलिकम पहुँच विस्तार गर्ने योजना सुनाउनुभएको छ ।”
एनसेललाई ठूलो क्षति पुगेको उल्लेख गर्दै मन्त्री खरेलले सरकारबाट हुनसक्ने सहयोगका लागि तयार रहेको पनि बताए । एनसेलका अनुसार कम्पनीले जेनजीलाई लक्षित गरी विशेष प्याक सार्वजनिक गर्ने तथा मुलुकभरका १०० जना विद्यार्थीलाई एक करोड रुपैयाँ बराबरको जेनजी छात्रवृत्ति घोषणा गर्ने तयारीसमेत गरिरहेको छ ।
यसैगरी, एनसेलका तर्फबाट मन्त्री खरेललाई सगरमाथा क्षेत्रको गोखरसेपसम्म थप पाँचवटा टावर जडान गरी ‘फोरजी’ सेवा विस्तार गर्न लागिएको जानकारी गराइएको थियो । मन्त्री खरेलले पछिल्लो समय एनसेलसँग देखिएका केही नीतिगत तथा अन्य समस्या समाधानका लागि सरकार प्रयासरत रहेको बताए ।
उनले भने, “केही नीतिगत समस्या र विवादहरू देखिएका छन्, तर ती सबै कानुनसम्मत ढंगले समाधान हुनुपर्छ भन्नेमा सरकार विश्वस्त छ ।”
उक्त अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले नेपालको टेलिकम क्षेत्रको सेवा अझै अन्तर्राष्ट्रिय स्तरमा पुग्न नसकेको उल्लेख गर्दै सरकारबाट नीतिगत सहजीकरण आवश्यक रहेको धारणा व्यक्त गरे । उनले टेलिकम्युनिकेसन सेवा पछिल्लो समय जनजीवनका लागि अत्यावश्यक भइसकेकाले यस क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताए ।