नेकपा एमालेका नेता तथा व्यवसायी शिवशंकर साह (हिरा) भारतबाट पक्राउ परेका छन् । मधेश प्रदेश उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका साहलाई भारतको सीतामढीबाट पक्राउ गरी मंगलबार साँझ धनुषा प्रहरीले आफ्नो जिम्मामा लिएको छ ।
जनकपुरस्थित साहले सञ्चालन गरेको होटलमा एक नाबालिकासम्बन्धी गम्भीर मुद्दामा अनुसन्धान अघि बढेपछि प्रहरी सक्रिय बनेको थियो । सोही क्रममा केही दिनअघि उनका दाजु मनोज साह पक्राउ परेका थिए ।
दाजु पक्राउपछि भएका प्रारम्भिक अनुसन्धानबाट हिरा साह भारततिर लुकेर बसेको पुष्टि भएको र भारतीय सुरक्षा निकायसँगको समन्वयमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
साह २०७९ सालको स्थानीय तह निर्वाचनमा जनकपुरधामका मेयर पदका उम्मेदवारसमेत बनेका थिए। उद्योग–वाणिज्य क्षेत्रमा सक्रिय पाइने उनी मधेश प्रदेश उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पनि हुन् ।
उक्त मुद्दामा फलसोम क्याफेका म्यानेजर अमित ठाकुर र पीडित बालिकाका मामासमेत पक्राउ परेका छन् । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।