नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य पुनः पदबहाली भएका छन् । सर्वोच्च अदालतको परमादेशपछि शाक्यले बुधबारदेखि पुनः प्राधिकरणमा कार्यभार सम्हालेका हुन् ।
यसअघि मन्त्रिपरिषद्को गत ५ असोजको निर्णयअनुसार शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । उक्त निर्णय कानुनविपरीत रहेको ठहर गर्दै सर्वोच्च अदालतले सोमबार सो निर्णय खारेज गरिदिएको हो ।
शाक्यलाई गत ११ चैत २०८१ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । तर जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका कुलमान घिसिङले पद सम्हालेलगत्तै शाक्यलाई कार्यकारी निर्देशक पदबाट हटाएका थिए ।
पुनः कार्यभार सम्हाल्दै शाक्यले आफ्नो कार्यकाल अब साढे तीन वर्ष बाँकी रहेको उल्लेख गर्दै उक्त अवधिमा प्राधिकरणमा उत्कृष्ट नतिजा दिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा सरकारसँग समन्वय गरेर नै संस्थालाई अघि बढाउने बताए ।