घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा सक्रिय छन् । गुणस्तरीय स्याउ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता उल्लेखनीय रूपमा बढेको छ ।
जिल्लामा यस वर्ष स्याउ बगैँचा व्यवस्थापन विगतका वर्षभन्दा चाँडो सुरु गरिएको छ । भदौदेखि कात्तिकसम्म स्याउको ‘पोस्टहार्भेस्ट’ सकिएसँगै बोटमा पात झरेर उजाड बनेका छन् । यस वर्ष जमिनको तापक्रम नघटेकाले पात छिटो सुकेको किसानहरूले बताए ।
घरपझोङका किसान दिवश थापाले भने, “बगैँचा व्यवस्थापनको पहिलो प्राथमिकतामा स्याउका बोटको उपयुक्त काँटछाँट गर्नु पर्छ । हाँगाबिगामा सूर्यको प्रकाश समान रूपमा पर्नुपर्छ र चारैतिरबाट हावा खेल्नुपर्छ । अनावश्यक हाँगाबिगा र पातले गुणस्तर र उत्पादनमा ह्रास ल्याउन सक्छ ।”
हिउँदयाममा बगैँचा व्यवस्थापनका लागि किसानहरूले बोट काँटछाँट, मलजल र सिँचाइ, रोगकिरा नियन्त्रणका लागि ‘बोरोपेस्ट’ र ‘बोरोमिक्चर’ छर्किनु आवश्यक रहेको उनले बताए । उचित व्यवस्थापन नगरे गुणस्तरीय उत्पादन अपेक्षाअनुरूप नआउने थापाले जनाए ।
बगैँचा व्यवस्थापनको समयमा परेको हिउँले जमिनको उर्वराशक्ति मजबुत बनाउने, सिँचाइ पुग्ने र रोगकिरा सङ्क्रमण न्यून गर्ने काम गर्छ । यद्यपि यस वर्ष अनुकूल मौसममा हिउँ नपरेको कारण प्राकृतिक सिँचाइको विकल्प खोज्नुपरेको छ ।
जिल्लास्थित कृषि तथा पशु विकास कार्यालयका प्रमुख राजेश गुरुङका अनुसार तल्लो क्षेत्रका तीन पालिकाका किसानले बगैँचा व्यवस्थापन सुरु गरिसकेका छन् भने माथिल्लो क्षेत्रमा पुस १५ देखि माघ मसान्तसम्म यस कार्य सम्पन्न हुनेछ । उच्च उचाइमा तापक्रम घटेकाले पात झर्न ढिलो हुने भएकाले व्यवस्थापन ढिला सुरु हुने बताइएको छ ।
कार्यालयले बगैँचा व्यवस्थापनका लागि स्थानीय तहका कृषि प्राविधिक, सरोकारवाला निकायका कृषि प्राविधिकलाई लक्षित गरी तीनदिने सैद्धान्तिक तथा व्यवहारिक तालिम सञ्चालन गरेको छ । गुरुङका अनुसार हिउँदयामको समयमा स्याउका बोटहरू सुषुप्त अवस्थामा हुने भएकाले व्यवस्थापनले उपयुक्त प्रतिफल दिनेछ ।
यस वर्ष मुस्ताङमा स्थानीय स्याउ ६,०७८ मेट्रिकटन र हाइब्रिड स्याउ १,२५० मेट्रिकटन उत्पादन भएको छ । कार्यालयका अनुसार उचित मूल्य पाउँदा किसानले बिक्रीबाट आम्दानी बढाएका छन् ।