मधेश राजनीतिमा सक्रिय तीन दल—महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीबीच पार्टी एकीकरण हुने भएको छ ।
बुधबार तीन दलका शीर्ष नेताहरूबीच भएको छलफलपछि संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकताको सिद्धान्तगत सहमति भएको घोषणा गरिएको हो ।
दलहरूका अनुसार देशमा बढ्दै गएको राजनीतिक अनिश्चितता, भ्रष्टाचार, बेथिति तथा सुशासनको अभाव अन्त्य गर्न “राष्ट्रिय पुनर्संरचना” आवश्यक भएकाले ताजा जनादेशसहितको आम निर्वाचन नै वर्तमान परिस्थितिको समाधान हो भन्ने साझा निष्कर्षमा उनीहरू पुगेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “समान अधिकार, राज्यका सबै तहमा समानुपातिक समावेशिता, विविधताको सम्मान तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिबद्धता मजबूत बनाउन सिमान्तिकरणमा परेका समुदायहरूको समग्र राजनीतिक शक्ति निर्माण आवश्यक छ ।”
तीनै दलले यही आवश्यकतालाई मनन गर्दै एकीकृत राजनीतिक शक्ति निर्माणका लागि अघि बढ्ने निर्णय गरेका हुन् ।
एकीकरणको उद्देश्य मधेस, थरुहट, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्ग तथा सिमान्तिकृत समुदायहरूको साझा राजनीतिक आवाजलाई सशक्त बनाउनु रहेको बताइएको छ । नयाँ एकीकृत संरचनाले मधेश–केन्द्रित राजनीतिक एजेन्डालाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा उठाउने अपेक्षा व्यक्त गरिएको छ ।
दलहरूले समान विचारका मधेशवादी राजनीतिक शक्ति, सामाजिक अगुवाहरू तथा जनप्रतिनिधिहरूलाई पनि एकै मोर्चामा गोलबद्ध हुन आग्रह गरेका छन् । उनीहरूका अनुसार व्यापक एकताले मधेशको राजनीतिक प्रभावकारिता बढाउनेछ र राज्य संरचनामा समावेशी सहभागिता सुनिश्चित गर्न नयाँ शक्ति निर्माण हुनेछ ।