सिरहा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बरियारपट्टी गाउँपालिकाबाट वडा नं. ३ का निवासी दिनेश महतोलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, महतो भारतीय नम्बर प्लेटको बीआर ३२ ए डब्लु ८३७७ मोटरसाइकलमा सवार रहेका बेला जाँच गर्दा मोटरसाइकलभित्र लुकाइराखिएको ७ लाख रूपैयाँ फेला परेको थियो । रकमको स्रोत पुष्टि नहुने भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको रकम, मोटरसाइकल र महतोलाई आवश्यक कानुनी कारबाहीका लागि ठाडी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।