नेपाल राष्ट्र बैँकले आइतबार १० दिन अवधिका लागि ३५ अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि राष्ट्र बैँकले निक्षेप सङ्कलन उपकरणमार्फत पुनः तरलता खिच्न लागेको हो ।
राष्ट्र बैँकका अनुसार हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि केन्द्रीय बैँकले समय–समयमा निक्षेप सङ्कलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैँकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप सङ्कलन रकम बाँडफाँट गर्दा बोलकबोलमा सहभागी काउन्टर पार्टीहरूले प्रस्ताव गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकमलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।
राष्ट्र बैँकका अनुसार आइतबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ पुस ९ गते भुक्तानी गरिनेछ ।
बोलकबोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमभित्र पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी तोकिएको छ ।
केन्द्रीय बैँकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन तथा बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार संरचनात्मक खुला बजार कारोबारअन्तर्गत बढीमा ६ महिनासम्मको दीर्घकालीन निक्षेप सङ्कलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ ।
यही व्यवस्थाका आधारमा नेपाल राष्ट्र बैँकले पछिल्लो समय पटक–पटक निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ ।