नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग राख्दै जेनजी युनाइटेडले अर्थ मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
जेनजी युनाइटेडका संयोजक जनक परियारका अनुसार अर्थतन्त्रलाई चलायमान बनाउन वर्तमान गभर्नरबाट सकारात्मक काम हुन नसकेको, अनुभव पनि पर्याप्त नभएको कारणले पौडेललाई बर्खास्त गरी नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने माग गरिएको हो ।
उनीहरूले गभर्नरको नियुक्ति तत्कालिन सरकारले स्वार्थ समूहको चलखेलमा गरेको, राष्ट्र बैंक ऐनको उल्लङ्घन भएको, गभर्नरविरुद्ध विभिन्न निकायले अनुसन्धान गरिरहेको र अनुभवको आधारमा समेत नियुक्ति उपयुक्त नभएको तर्क राखेका छन् ।
त्यसैगरी, ज्ञापन पत्रमा लगानीकर्तालाई सुरक्षा प्रत्याभूति दिनुपर्ने, अर्थ मन्त्रालयमा बिचौलियाको चलखेल रोक्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको मनपरी रोक्नुपर्ने तथा बैदेशिक ऋणको सदुपयोग गर्नुपर्ने मागहरू पनि समावेश गरिएको छ ।