सप्तरी | सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानसँग सस्तोमा धान खरिद गरी महँगोमा बिक्री गर्दै आएकाले जिल्लाका किसानहरू आर्थिक मारमा परेका हुन् ।
नेपाल सरकारले मोटो धानको खरिद मूल्य प्रतिक्विन्टल ३ हजार ४ सय रुपैयाँ र पातलो धानको खरिद मूल्य ३ हजार ६ सय रुपैयाँ तोकेको छ । तर बजारमा व्यापारीहरूले उक्त मूल्यअनुसार खरिद नगरेपछि किसानहरू समस्यामा परेका राजविराज नगरपालिका–१ की किसान नविता चौधरीले बताउनुभयो ।
उहाँका अनुसार किसानले लाखौँ रुपैयाँ लगानी गरेर खेती गरे पनि धान भित्र्याएपछि तत्काल खर्च टार्नुपर्ने बाध्यताका कारण व्यापारीले भनेको कम मूल्यमा धान बेच्नुपरेको छ । “किसान धान बेच्न जाँदा सकेसम्म कम मूल्य तोक्ने प्रवृत्तिका कारण जिल्लाभरका किसानहरू मारमा परेका छन्,” उहाँले भन्नुभयो ।
यस वर्ष खडेरी र बेमौसमी अवस्थाका कारण धान खेती गर्न गत वर्षभन्दा बढी खर्च र परिश्रम गर्नुपरेको भए पनि सस्तो मूल्यमा धान बेच्न बाध्य भएको राजविराज नगरपालिका–१ का किसान सोमन यादवले बताउनुभयो । “समयमा वर्षा र सिँचाइ नहुँदा भदौ महिनामा धान रोप्न बाध्य भयौँ । महिनामा दुई पटक प्रतिकठ्ठा ३ सय रुपैयाँका दरले दुई बिघा खेत पटाउनुपरेको थियो,” उहाँले भन्नुभयो ।
धान उत्पादन लागत बढे पनि किसानले मोटो धान प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँ र मसिनो धान २ हजार ७ सय रुपैयाँमै बिक्री गर्नुपरेको यादवले गुनासो गर्नुभयो । सरकार किसानको परिश्रमको उचित मूल्याङ्कन नगरेको र समस्याप्रति गम्भीर नदेखिएकै कारण किसानमाथि एकपछि अर्को समस्या थपिँदै गएको उहाँको भनाइ छ ।
धान खरिद–बिक्री गर्ने व्यापारी रामप्रसाद यादवले सरकारले तोकेको धानको मूल्यअनुसार चामलको मूल्य निर्धारण नभएकाले चामल बिक्री मूल्य हेरेर मात्रै धान खरिद गर्नुपरेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतका अनुसार सरकारले न्यूनतम समर्थन मूल्य तोके पनि व्यवहारमा किसानले उक्त मूल्य पाउन सकेका छैनन् । “यस वर्ष मोटो धानको मूल्य ३ हजार ४ सय र पातलो धानको मूल्य ३ हजार ६ सय तोकिए पनि जिल्लामा मोटो धान २ हजार ५ सय र मसिनो धान २ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ,” उहाँले भन्नुभयो ।
सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान खरिदको जिम्मा दिए पनि लक्ष्यअनुसार पर्याप्त धान नकिन्दा किसानहरू बाध्य भएको प्रमुख राउतले बताउनुभयो । उहाँका अनुसार विगतमा जिल्लामा राइस मिल सञ्चालनमा रहेका बेला किसानले राम्रो मूल्य पाउँथे । तर माओवादी द्वन्द्वकालमा एक दर्जनभन्दा बढी राइस मिल बन्द भएपछि किसानहरू साना व्यापारीलाई सस्तोमा धान बेच्न बाध्य भएका छन् ।