पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बा.२१च ७८५५ नम्बरको पिकअप गाडीका चालक रामेछाप जिल्ला खाँडाडेवी गाउँपालिका– १ का सुवराज श्रेष्ठ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले साेमबार साँझ करिब ८ बजे वीरगंज महानगरपालिका–१७ कोनिया क्षेत्रमा चेकजाँचका क्रममा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गरेको थियो ।
प्रहरी चौकी सिर्सिया ड्राइपोर्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादवकाे नेतृत्वमा खटेकाे टाेलिले चेकजाँचका क्रममा गाडीको पछाडिपट्टी प्लास्टिकका बोरामा परालले छोपी लुकाइछिपाइ राखिएको अवस्थामा लागू औषध गाँजा बरामद गरेकाे हाे । प्रहरीका अनुसार १२ वटा पोकामा प्याक गरिएको १ सय ७६ केजी लागू औषध बरामद गरेको हो । सोही गाडीका चालक रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–१ घर भएका २८ वर्षीय सुबराज श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ ।
बरामद गरिएको लागू औषध, पिकअप गाडी तथा पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।