पर्सा । वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ९६ अर्ब ३८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ अर्ब १ करोड रुपैयाँ अर्थात् करिब १४ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो । गत आवको पहिलो पाँच महिनामा वीरगंज भन्सारले ८४ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको पाँच महिनामा राजस्व सङ्कलन उत्साहजनक रहेको छ । “कार्यालयले मङ्सिर महिनामा २१ अर्ब ३३ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो,” उहाँले भन्नुभयो, “तर सो महिनामा मात्रै लक्ष्यको ९८ प्रतिशत अर्थात् २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएका छौँ ।”
प्रमुख भन्सार प्रशासक ज्ञवालीका अनुसार चालु आवको पहिलो पाँच महिनामध्ये सबैभन्दा बढी राजस्व मङ्सिर महिनामै सङ्कलन भएको छ । विवरणअनुसार साउन महिनामा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड र असोजमा १९ अर्ब ९ करोड रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।
त्यस्तै कात्तिक महिनामा १७ अर्ब ३३ करोड र मङ्सिर महिनामा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
भन्सार विभागले वीरगंज भन्सार कार्यालयलाई चालु आर्थिक वर्षभरि दुई खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ । हालसम्मको पाँच महिनामा वार्षिक लक्ष्यतर्फ सकारात्मक प्रगति भएको भन्सार कार्यालयले जनाएको छ ।