आगामी फागुन २ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार सिफारिसको विषयलाई लिएर पर्सा क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसभित्र विवाद उत्पन्न भएको छ।
नेपाली काङ्ग्रेसले मंसिर २२ गते बाेलाएकाे क्षेत्रीय भेलामा प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि दुई नेताका समर्थकबीच वादविवाद र धकेलाधकेल भएको थियो । तथापि अहिले क्षेत्रीय कार्य समितिले युवा नेता राकेश यादवको नाम हटाएर अन्य दुई जनाको मात्रै उम्मेदवार जिल्ला कार्यसमितिमा सिफारिस गरेको भन्दै विवाद बाहिर आएको छ ।
मंसिर २२ गतेको क्षेत्रीय भेलाबाट पूर्वमन्त्री अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, युवा नेता राकेश यादव र मदन यादव गरी चारजनाको नाम सिफारिस भएको सार्वजनिक भएको थियो । क्षेत्रीय सभापति महमद साहबुद्दिनले यसअघि तीन जनाको नाम सिफारिस भएको पुष्टि समेत गरेका थिए ।
तर, युवा नेता राकेश यादवले आफूले मंसिर २३ गते पार्टी विधान बमोजिम लिखित निवेदनसहित ११ हजार रुपैयाँ दस्तुर बुझाएर सिफारिसका लागि निवेदन दिएको भए पनि आफ्नो नाम हटाइएको बताएका छन् । यादवका अनुसार, क्षेत्रीय सभापति साहबुद्दिनले पूर्वमन्त्री अजय चौरसियाको दबाबमा यस्तो निर्णय गर्नु परेको जवाफ दिएकाे दाबी गरेका छन् ।
काङ्ग्रेस पर्साका क्षेत्रीय सभापति जनार्दन सिंह क्षेत्रीले पनि पर्सा २ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमितिमा आएको सिफारिस पत्रमा राकेश यादवको नाम नरहेको पुष्टि गरेका छन् । उनले सबै चारवटा क्षेत्रबाट आएका सिफारिस बुधबारसम्म मधेस प्रदेश कार्यसमितिमा पठाइने बताए ।
यस विवादले जेन जी विद्रोहपछि पनि नेपाली काँग्रेस पार्टी भित्र प्रत्यक्षतर्फका उम्मेदवार चयन प्रक्रियामा अन्योल र असन्तुष्टिलाई उजागर गरेको छ ।