भदौ २३ र २४ गते घटित घटनाका सम्बन्धमा गठन गरिएको जाँचबुझ आयोगले आफ्नो कार्यकाल एक महिना थप गर्न सरकारसँग आग्रह गरेको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलका क्रममा आयोगका पदाधिकारीहरूले जाँच प्रक्रिया अझै जारी रहेकाले म्याद थप आवश्यक भएको जानकारी गराउँदै औपचारिक आग्रह गरेका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा असोज ५ गते गठन गरिएको उक्त जाँचबुझ आयोगको हालको म्याद सकिन लाग्दा पनि बयान लिने कार्य पूर्ण नभएकाले थप समय आवश्यक परेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष कार्कीका अनुसार काम सम्पन्न गर्न अझै केही समय अपुग भएकाले प्रधानमन्त्रीसमक्ष एक महिनाको म्याद थपको प्रस्ताव राखिएको हो ।
प्रधानमन्त्री कार्कीले आयोगको आग्रहप्रति सकारात्मक प्रतिक्रिया दिँदै म्याद थप गरिने जानकारी दिएको अध्यक्ष कार्कीले बताए । साथै, आयोगले आगामी साता पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको जनाएको छ । जाँचबुझ आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाका विषयमा सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूको बयान यसअघि नै लिइसकेको छ ।
तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि औपचारिक रूपमा काम सुरु गरेको थियो। हालको कार्यकाल यही पुस ९ गते सकिँदैछ ।