राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्ध दायर सुप्रिम सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा हुँदैछ ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीले आफूहरू सहित चार जनाविरुद्ध सामूहिक रूपमा कायम गरिएको १० करोड ९९ लाख ३६ हजार रुपैयाँ बिगोमध्ये आफ्नो भागमा पर्ने रकम बुझाएर थुनामुक्त गरिनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएका छन् ।
लामिछानेले उक्त बिगोमध्ये आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत जिल्ला अदालत रुपन्देहीमा पेस गरेका थिए। तर गत साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई थुनामुक्त गर्न अस्वीकार गरेको थियो । त्यसपछि लामिछानेले भदौ ९ गते उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पुनरावेदन निवेदन दर्ता गराएका थिए ।
उक्त निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने र जोशीको मुद्दा मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासमा पेशी तोकिएको छ ।
सुप्रिम सहकारी ठगी प्रकरणसम्बन्धी यस मुद्दाको पेसी गत कात्तिक १३ गतेदेखि हरेक बिहीबार तोकिँदै आए पनि विभिन्न कारणले पटक–पटक स्थगित हुँदै आएको छ । यसअघि मंसिर २५ गतेका लागि तोकिएको पेसी पनि ‘हेर्न नमिल्ने’ कारण देखाउँदै स्थगित गरिएको थियो ।
आजको सुनुवाइलाई यस प्रकरणमा महत्त्वपूर्ण मानिएको छ, जसबाट लामिछाने र जोशीको थुनामुक्ति वा थप थुनाबारे अदालतको धारणा स्पष्ट हुने अपेक्षा गरिएको छ ।