भौतिक, पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोग बढाउन आवश्यक रहेको बताएका छन् । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ललितपुरमा ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ कार्यक्रमको विमोचन गर्दै उनले स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको जानकारी दिए ।
मन्त्री घिसिङका अनुसार स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारी सिर्जना गर्नेछ । उनले भने, “स्थानीय उत्पादन र प्रविधिको प्रयोगले रोजगारी सिर्जना गर्नेछ । बाँसको व्यावसायिक खेतीले आन्तरिक माग बढाउने मात्र नभई संरचना निर्माणमा खर्च हुने अन्तर्राष्ट्रिय मुद्रा सञ्चितिमा पनि योगदान पुग्ने देखिन्छ । त्यसैले संरचना निर्माणका लागि स्थानीय प्रविधिको प्रयोग गरौँ र आफ्नो मौलिकता संरक्षणमा जोड दिऔँ ।”
सहरी विकासमन्त्री समेत रहेका घिसिङले आफ्नै देशको काठ तथा काठजन्य वस्तु प्रयोग नगर्दा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको उल्लेख गर्दै अब प्राविधिक, प्रविधिमैत्री र भूकम्प प्रतिरोधी संरचना निर्माणमा बाँसलगायतको प्रयोगमा ध्यान दिनुपर्ने बताए । उनले भने, “हामीले हाम्रो ठाउँको काठलाई उपयोग गर्न नसक्दा अर्थतन्त्रमा ठूलो नकारात्मक प्रभाव परेको छ । काठ आयातमा धेरै रकम खर्च भइरहेको छ । बाँसका संरचनालाई प्रयोगमा ल्याउने वातावरण बनाऔँ, यसले अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनेछ ।”
सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले स्थानीय उत्पादनको प्रयोगमा जोड दिन मन्त्रालय तयार रहेको जानकारी दिए । साथै सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले स्थानीय सन्दर्भअनुकूल, जलवायुमैत्री, भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि आवश्यक नीतिगत व्यवस्था, मापदण्ड, निर्देशिका र कार्यविधि तयार गरी लागू गर्न विभाग प्रतिबद्ध रहेको बताए ।