नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था, उपलब्धि र चुनौतीहरूबारे छलफल गर्न एड्स हेल्थकेयर फाउन्डेसन नेपाल (AHF Nepal) ले वीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
सहभागीहरूले एचआईभी नियन्त्रणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै तथ्यपरक र संवेदनशील रिपोर्टिङ आवश्यक रहेको जोड दिएका थिए ।
कार्यक्रमले नेपालमा एचआईभी नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई थप प्रभावकारी बनाउन स्थानीय तह, नागरिक समाज र सञ्चारकर्मीबीच सहकार्य मजबुत बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा AHF नेपालका कार्यक्रम तथा बजार व्यवस्थापक राधेश्याम श्रेष्ठले देशको समग्र एचआईभी अवस्थाबारे प्रस्तुति दिँदै हाल नेपालमा एचआईभी सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको अवस्था नरहेकाले दीर्घकालीन रणनीतिसहितका कार्यक्रम आवश्यक रहेको बताएका थिए ।
उनका अनुसार AHF नेपालले आगामी दिनमा नयाँ एचआईभी संक्रमणको रोकथाम, सङ्क्रमितहरूको स्वास्थ्य परिणाममा सुधार, देशभरका ९५ प्रतिशत सङ्क्रमितको पहिचान, पहिचान भएका ९५ प्रतिशत सङ्क्रमितलाई उपचारमा जोड्ने त्यस्तै आमाबाट बच्चामा हुने एचआईभी सङ्क्रमणको निवारण लगायतकाे कार्ययोजनामा लागेकाे बताए ।
AHF नेपालले प्रस्तुत गरेको तथ्याङ्कअनुसार नेपालमा एचआईभी सङ्क्रमितहरूको अनुमानित संख्या ३४ हजार ३ सय ३७ रहेको छ । जसमध्ये पुरुष सङ्क्रमित १९ हजार ८ सय २१ (५८ प्रतिशत), महिला सङ्क्रमित १४ हजार ५ सय १६ (४२ प्रतिशत) रहेका छन् । त्यसैगरी कुल सङ्क्रमितमध्ये ०–१४ वर्ष उमेर समूहका बच्चा १ हजार ५८ (३ प्रतिशत) रहेका छन् ।
त्यसैगरी, वार्षिक नयाँ एचआईभी सङ्क्रमणको संख्या ६ सय १४ र एड्ससम्बन्धी वार्षिक मृत्युको संख्या ५ सय ६९ रहेको कार्यक्रममा AHF नेपालले जानकारी गराएकाे थियाे ।
जिल्लागत तथ्याङ्क रूपमा AHF नेपालका अनुसार बारामा ४ सय ७२ जना र पर्सामा ८ सय १२ जना एचआईभी सङ्क्रमित रहेको जानकारी दिईएको थियाे ।
कार्यक्रममा AHF नेपालले देशका पर्सा, धनुषा, मकवानपुर, अछामसहित १७ वटा जिल्लामा एचआईभी रोकथाम, परीक्षण, उपचार तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिइएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य AHF नेपालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले राख्दै नेपालमा एचआईभी नियन्त्रणका लागि सरकार, गैरसरकारी संस्था, स्वास्थ्यकर्मी र सञ्चारकर्मीबीचको सहकार्य अत्यन्त आवश्यक रहेको बताएका थिए । उनले एचआईभी अझै पनि सामाजिक लाञ्छना (stigma) र भेदभावको विषय बनेकाले यसविरुद्ध सचेतना बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश खनाल, जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख विनाेद झा, वीरगंज महानगरपालिकाका जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख राजु साह लगायत स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।