पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले सुशीला कार्की नेतृत्वको संघ सरकारद्वारा गरिएको प्रमुख प्रशासकीय अधिकृतको सरुवा निर्णय नमान्ने भन्दै सरकारलाई ठाडै चुनौती दिएका छन् ।
गत मङ्गलबार संघ सरकारअन्तर्गतको सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको थियो । सोही क्रममा कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरीलाई जिराभवानी गाउँपालिकामा तथा जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरिएको थियो । तर, जिराभवानी गाउँपालिका अध्यक्ष चौधरीले सरकारको उक्त निर्णयप्रति असहमति जनाउँदै अमित गिरीलाई पालिकामा हाजिर गर्न नदिने सार्वजनिक घोषणा गरेका छन् ।
आफूले चाहेको कर्मचारीको सट्टा सरकारले एकतर्फी रूपमा सरुवा गरेको भन्दै अध्यक्ष चौधरीले उक्त निर्णय नमान्ने चेतावनी दिएका हुन् । अध्यक्ष चौधरीले पुस ३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारप्रति आक्रोश पोखेका छन् । विज्ञप्तिमा उनले अमित गिरीलाई जिराभवानी गाउँपालिकामा सरुवा गर्ने निर्णय तत्काल रद्द गर्न र आफ्नो सहमतिमा मात्र अर्को प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारलाई आदेशात्मक आग्रह गरेका छन् ।
उनले उक्त माग पूरा नभए उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित मन्त्रालयले नै लिनुपर्ने ठाडो चेतावनीसमेत दिएका छन् । स्थानीय तहका जनप्रतिनिधिले संघ सरकारको प्रशासनिक निर्णय सार्वजनिक रूपमा अस्वीकार गर्दै हाजिर मै रोक लगाउने घोषणा गर्नुले संघ–प्रदेश–स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्रको ठाडाे हस्तक्षेप हाे ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा संघ सरकारको अधिकार क्षेत्रभित्र पर्ने भएकाले असहमति भए विधिसम्मत रूपमा मन्त्रालयसँग संवाद र छलफल गर्नुपर्नेमा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले स्टन्टबाजी गरेका छन् ।