जिल्ला प्रशासन कार्यालय बाराले महिला सेवाग्राहीलाई लक्षित गर्दै पहिलो पटक स्तनपान कक्ष सञ्चालनमा ल्याएको छ ।
श्री शिव शक्ति ध्यु उद्योग प्रा.लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निर्माण गरेको उक्त स्तनपान कक्ष एक कार्यक्रमबीच उद्योगका अध्यक्ष तथा संविधान सभा सदस्य राजकुमार अग्रवालले जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने महिला सेवाग्राही तथा साना बालबालिकाको सहजतालाई ध्यानमा राख्दै कार्यालय परिसरमै स्तनपान कक्ष सञ्चालनमा ल्याइएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार कार्यालयमा सेवा लिन आउने महिलाहरूलाई आफ्ना शिशुलाई स्तनपान गराउन असहज अवस्था हुने गरेको गुनासोलाई मध्यनजर गर्दै कार्यालयभित्रै स्तनपान कक्ष स्थापना गरिएको हो । यसले महिला सेवाग्राहीलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ ।
स्तनपान कक्ष हस्तान्तरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुवर, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सरोज निरौला, सेवाग्राही तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।