सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ निवर्तमान सांसद र अन्य तीन जनाको हस्ताक्षरसहित पूरक निवेदनको सुनुवाइ आज हुँदैछ ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, र न्यायाधीशहरू हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा तथा नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा सुनुवाइ हुने जानकारी दिइएको छ ।
कांग्रेसका कुल ८७ जनामध्ये ६५ जना निवर्तमान सांसदको हस्ताक्षरसहित पूरक निवेदन मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो । हस्ताक्षर वारेस पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती मार्फत दर्ता गरिएको थियो ।
यसअघि मंसिर २३ गते कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए । उक्त रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
यसै क्रममा स्वतन्त्र निवर्तमान सांसद योगेन्द्र मण्डल, जसपा र जनमतका एक–एक सांसदले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर दिएका छन् ।
त्यस्तै, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले पनि रिट दर्ता गरेका थिए भने अन्य निवर्तमान सांसदहरूले पनि हस्ताक्षर बुझाएका छन् । यसरी विभिन्न दलका निवर्तमान सांसदहरूले बुझाएका हस्ताक्षरको संख्या १४३ पुगेको छ ।