वीरगंज महानगरपालिका वडा नम्बर ७, गहवा टोलमा ज्यान मार्ने प्रयाससहित गम्भीर घरेलु हिंसाको घटना सार्वजनिक भएको छ ।
सोही टोलकी मधु कुमारी गुप्तामाथि अाफ्नै सासु ससुराले अाक्रमण गरेकाे छ । पिडितका अनुसार आफ्नै पति तथा ससुराली पक्षबाट लामो समयदेखि शारीरिक, मानसिक र आर्थिक हिंसा सहँदै आएको गुनासो गरेकी छन् । पीडितका अनुसार करिब चार वर्षअघि जातीय परम्पराअनुसार नरेश कुमार गुप्तासँग विवाह भएको थियो । विवाहपछि पति रोजगारीका सिलसिलामा बुटवल गएपछि उनी ससुराली घरमै बस्दै आएकी थिइन् । पति घरबाहिर रहँदा सासु मीना देवी, ससुरा नागेन्द्र साह कानु तथा नन्दहरू सुनैना देवी र गीता देवीबाट निरन्तर दुर्व्यवहार हुँदै आएको पीडितको आरोप छ ।
पीडितले घरमा बस्न नदिने, खान–लाउनबाट वञ्चित गर्ने, गालीगलौज गर्ने, पटक–पटक कुटपिट गर्ने र घरबाट निकाल्ने जस्ता अमानवीय व्यवहार सहनुपरेको बताएकी छन् । साथै निरन्तर अपमानजनक व्यवहार गर्ने कार्य लामो समयदेखि हुँदै आएको उनको भनाइ छ ।
यस विषयमा स्थानीय भद्रभलाद्मी तथा आफन्तको रोहबरमा पटक–पटक छलफल र सम्झाइ–बुझाइ भए पनि ससुराली पक्षको व्यवहारमा सुधार नआएको पीडितले जनाएकी छन् ।
पीडितका अनुसार जिल्ला प्रहरी कार्यालयको पहलमा मिति २०८२ मंसिर ०७ गते छलफल भई ससुराली घरमै बसोबासका लागि एक कोठा र एक भान्सा उपलब्ध गराउने सहमति भएको थियो । तर सहमतिपछि घर फर्किँदा बस्न दिइएको कोठामा घर निर्माणका लागि राखिएको बालुवा थुपारिएको अवस्थामा भेटिएको र पटक–पटक हटाइदिन आग्रह गर्दा समेत बेवास्ता गरिएको आरोप छ । सोही विषयमा कुरा गर्दा सासु मीना देवीले गालीगलौज गर्दै हातपात सुरु गरेको पीडितको भनाइ छ ।
पीडितका अनुसार अाज दिउँसो करिब २ बजे विवाद चर्किँदै जाँदा ससुराली पक्षले अश्लील शब्द प्रयोग गर्दै लात, मुक्का, लाठी तथा फलामे पाइप प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट पीडितको नाक, दाहिने आँखा, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र उक्त आक्रमण ज्यान मार्ने नियतले गरिएको पीडितको दाबी छ ।
घटनापछि पीडितलाई माइती पक्षको सहयोगमा नारायणी अस्पताल, वीरगंजमा उपचारका लागि भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य परीक्षण तथा उपचारको काम भइरहेकाे छ ।