पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बिहान ८ बजेतिर पूर्वतर्फबाट आइरहेको युपी–१७ ए–२१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो । दुर्घटनापछि बुलेट सडकमै तर्सो परेको छ। दुर्घटनामा चालक सामान्य घाइते भएका छन् । बुलेटबाट ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ ।
प्रहरीद्वारा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । ग्यास लिकका कारण आगलागीको जोखिम रहेकाले दमकल र बुलेट उठाउन क्रेनसमेत मगाइएको प्रहरीले जनाएको छ । दुर्घटना भएको स्थान जंगल क्षेत्रमा रहेकाले नजिक कुनै बस्ती भने छैन ।
स्थिति पूर्ण रूपमा सामान्य नभएसम्म सो सडकखण्ड नखुल्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले जानकारी दिइन् ।