लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।
गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो ४१ हजार रुपैयाँसम्म बिक्री भएको भए पनि यस वर्ष प्रतिमन २८ देखि ३० हजार रुपैयाँसम्म मात्र मूल्य पाइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिए ।
उनका अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुँदा किसानलाई ठूलो असर परेको छ । “गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य निकै घटेको छ,” राउतले भने, “मूल्य घटेपछि हामी किसान थप समस्यामा परेका छौं ।”
मूल्य बढ्ने आशामा आफूले उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा सुरक्षित राखेको राउतले बताए । हाल २० रोपनी क्षेत्रमा चिराइतो खेती गर्दै आएका उनले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राखेका छन् ।
उनका अनुसार मूल्यमा उतारचढाव भए पनि चिराइतो खेतीबाट वार्षिक औसत तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी हुँदै आएको छ । तर यस वर्ष मूल्य घटिरहेमा आम्दानीमा ठूलो गिरावट आउने जोखिम रहेको उनले बताए ।
टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा, सावालगायत लेकाली क्षेत्रहरू चिराइतो खेतीका लागि उपयुक्त मानिन्छन् । यी क्षेत्रबाट वार्षिक करिब एक हजार मनको हाराहारीमा चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानको भनाइ छ ।
यहाँका अधिकांश किसानका लागि चिराइतो नगदे बालीका रूपमा स्थापित भइसकेको छ । स्थानीय जानकारहरूका अनुसार चिराइतो विभिन्न रोगको घरेलु उपचारका लागि उपयोगी मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने तथा पेटसम्बन्धी समस्यामा यसको पात, डाँठ र जरा प्रयोग गरिन्छ ।
यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बङ्गलादेशलगायत मुलुकमा निर्यात हुने गरेको व्यवसायीहरूले बताएका छन् । तर अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढाव, ढुवानी खर्च र उचित बजार व्यवस्थापनको अभावका कारण किसानले अपेक्षित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ ।
किसानहरूले सरकारले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, प्रशोधन तथा भण्डारणको व्यवस्था मिलाउनुपर्ने र बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने माग गरेका छन् । स्थानीय तह र सम्बन्धित निकायले नगदे बालीको संरक्षण र प्रवर्द्धनतर्फ ध्यान दिनुपर्ने उनीहरूको आग्रह छ ।