देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले तराई भू–भागका अधिकांश स्थानमा शुक्रबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही प्रदेशमा भने आंशिक बदलीको अवस्था रहेको छ ।
हाल तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी, शुक्रबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा हुस्सु कायम रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन र नियमित रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।