चितवन | नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणमा गति आएको छ । पुल निर्माणको काम तुँदी कन्स्ट्रक्सन प्रालिले करिब एक महिनाअघि सुरु गरेको हो ।
कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको छ । प्रारम्भिक डिजाइन तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त नतिजाका आधारमा पुलका विभिन्न संरचनात्मक पक्ष परीक्षण गर्दै काम अघि बढाइएको उनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “डिजाइन गर्दा हामीले विभिन्न परीक्षण गरी पुलले कति भार थेग्न सक्छ भन्ने निर्धारण गरेका हुन्छौँ, फिल्डमा पनि त्यही भार थेग्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्नुपर्छ। अहिले हामी त्यही चरणमा छौँ ।”
टेस्टिङका लागि नेपालमै नयाँ प्रविधि ‘ओसेल’ प्रयोग भइरहेको छ । यस प्रविधिअन्तर्गत करिब ४५ मिटर गहिराइमा हाइड्रोलिक ज्याक राखेर कङ्क्रिटिङ गरिन्छ। उपकरण हाल चीनबाट ल्याउने प्रक्रियामा रहेको छ र उपकरण आइपुग्दै काम तीव्र हुने ईन्जिनियर त्रिपाठीले जानकारी दिनुभयो ।
ओसेल प्रविधि पाइलले कति भार सहन सक्छ भन्ने मापन गर्ने उपकरण हो। करिब ४५ मिटर लामो पाइलभित्र स्टिल केजमा हाइड्रोलिक ज्याक जडान गरिन्छ । कङ्क्रिटिङ गर्दा ज्याक फुल्दै जाँदा माथिल्लो र तल्लो भागमा पर्ने दबाब तथा प्रतिक्रिया मापन गरी पाइलको वास्तविक भार बहन क्षमता यकिन गरिन्छ ।
हाल साइट क्याम्पमा छड बाँध्ने, कङ्क्रिट मिक्स डिजाइन गर्ने र स्टिल केज निर्माणका काम भइरहेको छ। तयार भएका केजहरू फिल्डमा लगेर पिलरमा जडान गरिनेछन् । पुलको डिजाइन अन्तर्राष्ट्रिय आइआरसी कोडअनुसार कम्तीमा १०० वर्ष आयु रहने गरी गरिएको छ ।
टेस्टिङ फेज सकिएपछि थप जनशक्ति परिचालन गरिने योजना व्यवस्थापक इन्जिनियर मञ्जिल मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार बर्खा सुरु हुनुअघि फाउन्डेसनको काम सक्ने लक्ष्यसहित काम भइरहेको छ। प्रारम्भिक चरणमा टेस्ट पाइलको काम सकिएपछि परीक्षण कार्य अघि बढाइनेछ। चालु आर्थिक वर्षभित्र फाउन्डेसन तथा पाइलिङको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पुलमा नदीतर्फ दुई र दायाँ–बायाँ गरी चार पिलर रहनेछन्। ओसेल उपकरण आइपुगेपछि नारायणगढतर्फको पाइलिङ सुरु हुनेछ, जसमा करिब दुई महिना लाग्नेछ। त्यसपछि गैँडाकोटतर्फको काम सुरु गरिनेछ।
आइकोनिक केबल–स्टेड पुलमा आर्च ब्रिज, केबल नेटवर्किङ आर्च, सस्पेन्सनलगायत आधुनिक संरचनात्मक प्रविधि समावेश हुनेछन् । पुल निर्माणको लागत १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । पुलको लम्बाइ ४२० मिटर र चौडाइ १२ मिटर हुनेछ भने आयु कम्तीमा १०० वर्ष रहने बताइएको छ ।
सडक विभागले सन् २०२३ मा पुल निर्माणको ठेक्का दिएको थियो । विसं २०८० जेठ १९ गते ठेक्का सम्झौतापछि निर्माण कम्पनीले अन्तिम डिजाइन तयार गरी प्रमाणीकरण पाएसँगै नयाँ पुल निर्माणले तीव्रता पाएको हो ।