सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था कार्यान्वयन हुने भएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ अन्तर्गत आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था सहज बनाउन नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०८२ गत असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको थियो । यस ऐनले ल्याएका व्यवस्थाहरू कार्यान्वयनमा लैजान नागरिकता नियमावलीमा चौथो संशोधन गरिएको हो ।
पुस ११ गते मन्त्रिपरिषद्बाट स्वीकृत उक्त नियमावली पुस २१ को नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । त्यसैसँगै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक परिपत्र जारी गरिएको छ ।
नयाँ व्यवस्था के-के छन्?
विगतमा बाबु वा आमामध्ये एकले जन्मको आधारमा नागरिकता प्राप्त गरेकोमा, अर्काे नागरिकता नपाउँदै मृत्यु भएको वा सम्पर्कविहीन रहेको सन्तानले नियमावलीअनुसार प्रक्रिया र कागजात पूरा गरेमा अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने ।
नेपाली आमाबाट विदेशमा जन्मिएका तर विदेशको राहदानी वा नागरिकता नलिएका, बाबुको पहिचान खुलाउन नसकेका र नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिले नियमावलीअनुसार प्रक्रिया पूरा गरेमा नागरिकता पाउन सक्ने ।
बाबु वा आमा मध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता पाएका र अर्को नागरिकता प्राप्त नगरी मृत्यु भएका वा ठेगाना नपाएका सन्तानका लागि प्रमुख जिल्ला अधिकारीले आवश्यक छानबिन गरी नागरिकता प्रदान गर्न सक्ने ।
नागरिकता जारी गर्दा नियमावलीले तोकेका कागजातसँगै स्वघोषणालाई पनि आधार मानिने व्यवस्था गरिएको छ । आवश्यक ढाँचाको व्यवस्था समेत परिमार्जनले गरेको छ ।
वैवाहिक अंगीकृतबाहेक अन्य नागरिकता गृह मन्त्रालयको निर्णयमा मात्र दिइन्थ्यो, अब प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गरी नागरिकता जारी गर्न सकिने व्यवस्था भएको छ ।
नाबालक परिचयपत्र वितरण र विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गर्दा वैवाहिक अंगीकृत नागरिकता पाउन अघि नेपालको भिसा नियमित भएको हुनुपर्ने व्यवस्थासमेत परिमार्जनमा समावेश गरिएको छ ।
सरकारको यो नयाँ नियमावलीले आमाबाट जन्मिएका सन्तानका लागि नागरिकता पाउन प्रक्रिया सरल, पारदर्शी र छिटो हुने विश्वास व्यक्त गरिएको छ ।