मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी गरिबी दर रौतहटमा रहेको छ भने सबैभन्दा कम दर धनुषामा देखिएको छ ।
विशेषगरी रौतहट, सर्लाही र बारामा गरिबी दर उच्च देखिएको छ भने धनुषा र पर्सामा तुलनात्मक रूपमा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, यस तथ्यांकले मधेश प्रदेशमा जिल्लाभरै गरिबीको अवस्था असमान रहेको देखाउँछ । यद्यपि, जिल्लागत भिन्नताले स्थानीय स्तरमा विकास र लक्षित योजना आवश्यक रहेको कुरा पुष्टि गरेको छ ।
विशेषज्ञहरूका अनुसार, रौतहट, सर्लाही र बारामा गरिबी उच्च हुनुको कारण अविकसित कृषि क्षेत्र, रोजगारी अभाव, शिक्षा र स्वास्थ्य सेवा पहुँचको कमी रहेको बताइएको छ । उक्त तथ्यांकको आधारमा, सरकार र विकास साझेदारहरूले गरिबी कम गर्ने योजना र कार्यक्रमहरू विशेष गरी उच्च दर भएका जिल्लामा लक्षित गर्नु आवश्यक रहेको विज्ञहरूले सुझाएका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्यांकअनुसार जिल्लाहरूमा गरिबी दर यस प्रकार छ:
- रौतहट: ३२.३३%
- सर्लाही: २६.७०%
- बारा: २५.८२%
- सप्तरी: २५.३७%
- महोत्तरी: २४.०१%
- सिराहा: २२.२४%
- पर्सा: २०.६१%
- धनुषा: २०.३०%
श्रोत: राष्ट्रिय तथ्याङ्क कार्यालय