निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता, २०८२ आजदेखि लागू गरेको छ । आयोगका अनुसार सोमबार बिहान १२ बजेदेखि आचारसंहिता कार्यान्वयनमा आएको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले आचारसंहिता स्वीकृत गरी लागू गरिएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
आयोगले अर्को सूचना जारी नगरेसम्म आचारसंहिता सबै सम्बन्धित निकाय र व्यक्तिमा लागू हुने स्पष्ट पारेको छ । यस अनुसार:
सरकारी निकाय: नेपाल सरकार तथा मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, संघ तथा प्रदेश सरकार अन्तर्गतका निकाय र पदाधिकारी ।
स्थानीय तह: स्थानीय तहका कार्यपालिका र सदस्य, कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी ।
सार्वजनिक र अर्धसरकारी संस्था: सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारी ।
राजनीतिक दल: राजनीतिक दल तथा तिनका भ्रातृ संगठन ।
निर्वाचनसँग प्रत्यक्ष सम्बन्धित व्यक्ति: उम्मेदवार, सम्बन्धित व्यक्ति, राजनीतिक दलका निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, अनुगमन समिति र अनुगमनकर्ता ।
शिक्षा र सञ्चार: विद्यालय, महाविद्यालय, विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, सञ्चार माध्यम, सञ्चारकर्मी ।
मतदाता र विकास संस्था: मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना र कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा कर्मचारी ।
निजी क्षेत्र: बैंक, वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्थाका पदाधिकारी, कर्मचारी र कामदार ।
आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पूर्ण पालनाका लागि सबै सरोकारवालाको सहयोग आवश्यक रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।