विगतमा विवादित बनेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अब औपचारिक रूपमा खारेज भएको छ । यसलाई प्रतिस्थापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नयाँ ‘राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२’ स्वीकृत गरी लागु गरेको छ ।
मन्त्रालयले पुस ३ गते मन्त्रीस्तरीय निर्णयबाट नयाँ निर्देशिका स्वीकृत गरी देशभरका सबै स्थानीय तहहरूमा कार्यान्वयनका लागि पठाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालमा सुरु गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अक्सर कम गुणस्तर र उत्पादकत्वहीन काममा बजेट खर्च हुने कारण विवादमा परेको थियो । कार्यक्रमलाई ‘रुख गन्ने, झाडी फाँड्ने’ कामको उपमा समेत दिइएको थियो ।
नयाँ निर्देशिकासँगै यसअघि सञ्चालनमा रहेको २०७५ सालको निर्देशिका खारेज भएको छ । तर सो कार्यक्रम अन्तर्गत सञ्चालन भएका रोजगार व्यवस्थापन सूचना प्रणाली र हस्तान्तरण भएका विषयहरू नयाँ निर्देशिकामा समाहित हुने व्यवस्था गरिएको छ ।
नयाँ कार्यक्रमको उद्देश्य र लक्षित वर्ग
नयाँ निर्देशिका अनुसार, मुलुकको श्रम बजारमा आउने युवा श्रम शक्तिलाई सीप सिकाइ, रोजगार, स्वरोजगार तथा उद्यमशीलता विकास गराउने उद्देश्य रहेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सीप, पुँजी, अनुभव र प्रविधिलाई मुलुकको श्रम बजारअनुसार प्रवर्द्धन गर्ने कार्यक्रम पनि सञ्चालन हुनेछ ।
स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत बेरोजगार, रोजगारी खोज्ने व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति र राज्यले विशेष सहुलियत उपलब्ध गराउनुपर्ने व्यक्तिहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।
सञ्चालन प्रक्रिया
कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारले वार्षिक बजेटबाट प्रदेश तथा स्थानीय तहमा सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । विकास साझेदारबाट प्राप्त वित्तीय र प्राविधिक सहयोग पनि समन्वय गरी स्थानीय तहमा उपलब्ध गराउन सकिने व्यवस्था छ ।
कार्यक्रमको नीतिगत मार्गदर्शन र समन्वयका लागि राष्ट्रिय निर्देशक समिति, राष्ट्रिय कार्यक्रम कार्यान्वयन तथा समन्वय समिति, प्रदेश कार्यक्रम निर्देशक समिति र स्थानीय कार्यक्रम कार्यान्वयन समिति रहने छन् ।
स्थानीय तहको रोजगार सेवा केन्द्रमा सेवा प्रवाह, संयोजन र व्यवस्थापनका लागि रोजगार संयोजक नियुक्ति गरिनेछ । रोजगार संयोजकको तलब र भत्ता मन्त्रालयको विनियोजित बजेटबाट उपलब्ध हुनेछ ।