सरकारले निर्वाचनको समयमा सामाजिक सञ्जालको प्रयोगबाट हुन सक्ने दुरुपयोगका घटनाहरू रोक्न निगरानी प्रणाली कडा बनाउने निर्णय गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको नियमित बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सुरक्षा अधिकारीहरूले निर्वाचन अवधिभर सामाजिक सञ्जालको दुरुपयोग बढ्न सक्ने सम्भावनाबारे विभिन्न प्रतिवेदनहरू प्राप्त भइरहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । यसलाई सुरक्षा रणनीतिको महत्वपूर्ण अङ्गका रूपमा लिँदै सामाजिक सञ्जालमार्फत कुनै पनि गैरकानुनी गतिविधि भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय सुरक्षा समितिबाट यसअघि नै पारित भई कार्यान्वयनमा रहेको एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ अनुसार सम्बन्धित निकायहरूले सम्पादन गरिरहेका कार्यहरू, जनशक्ति परिचालन तथा बन्दोबस्ती योजनाबारे विस्तृत समीक्षा गरिएको थियो ।
चारवटै सुरक्षा निकायले निर्वाचन सुरक्षा योजनासम्बन्धी आफ्नो तयारीबारे बैठकमा बिफ्रिङ प्रस्तुत गरेका थिए । साथै, वर्तमान सुरक्षा अवस्था र सम्भावित सुरक्षा चुनौतीहरूको विश्लेषणसमेत गरिएको जनाइएको छ ।
बैठकले निर्वाचन कार्यक्रमको प्रभावकारी समन्वयका लागि गठन गरिएका सबै संयन्त्रहरूलाई सक्रिय बनाउने निर्णय गरेको छ । त्यस्तै, राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसार र चुनावी अभियानलाई व्यवस्थित बनाउन सुरक्षा व्यवस्थालाई थप सुदृढ र भरपर्दो बनाउने उद्देश्यले सबै जिल्ला सुरक्षा समितिलाई आवश्यक निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।