नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहलाई लक्षित गर्दै गरेको टिप्पणीविरुद्ध मधेशमा तीव्र विरोध सुरु भएको छ । बस्नेतको अभिव्यक्तिले मधेशी जनताको भाषा र भावनामाथि चोट पुर्याएको भन्दै विभिन्न समुदाय तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।
मंगलबार भक्तपुरमा मनोनयन दर्तापछि पत्रकार तथा आफ्ना पार्टीका नेताहरूसँग कुरा गर्दै बस्नेतले बालेन शाहले मधेशका जनतालाई ‘कुकुरको छाउरो’ भनेको आरोप लगाएका थिए । उनले भने, “मधेशका बेटा भनेको भए अलग कुरा, मधेशको छाउरो। छाउरो केको बच्चालाई भनिन्छ ? केलाई भनिन्छ रे ? मेरो मुखबाट भन्न नलगाउनुस् ।”
बस्नेतको उक्त भनाइपछि त्यहाँ उपस्थित एमाले कार्यकर्ताहरूले ‘कुकुरको छाउरो’ भन्दै ताली बजाएका थिए भने बस्नेत हाँसेका थिए । उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मधेशी समुदायप्रति अपमानजनक र असहिष्णु टिप्पणी गरिएको भन्दै विरोध चर्किएको हो ।
महेश बस्नेतको बालेन लक्षित अभिव्यक्तिले मधेशी जनतालाई खिसिट्युरी गरेको र भाषिक तथा भावनात्मक रूपमा लाञ्छना लगाएको भन्दै उनलाई सार्वजनिक रूपमा माफी माग्न माग गरिएको छ ।
‘आइ लभ मिथिला’ र ‘युथ अफ वीरगन्ज’ जस्ता सामुदायिक सामाजिक सञ्जाल पेजहरूले बस्नेतको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । ‘आइ लभ मिथिला’ पेजले लेखेको छ, “मैथिली भाषामा ‘छौँडा’ शब्दको अर्थ नेपाली भाषामा केटो वा ठिटो हुन्छ । छौँडा शब्दलाई ‘छाउरा’ भनेर कुकुरको अर्थ जोड्दै बालेनलाई मधेशको कुकुरको संज्ञा दिनु भाषिक अज्ञानता मात्र नभई नियतवश गरिएको मधेशी समुदायको अपमान हो ।”
पेजले थप लेखेको छ, “स्वस्थ आलोचना लोकतन्त्रको सुन्दरता हो, तर व्यक्तिगत गालीगलौज र समुदाय लक्षित अपमानले राजनीतिको स्तर गिराउँछ । राजनीतिक प्रतिस्पर्धा विचारमा हुनुपर्छ, भाषा वा जातीय पहिचानलाई गिज्याएर होइन ।”
त्यसैगरी ‘युथ अफ वीरगन्ज’ ले पनि एमालेको मधेशप्रतिको सोचमाथि प्रश्न उठाउँदै लेखेको छ, “एमालेको मधेशप्रतिको सङ्कीर्ण सोच र घृणात्मक व्यवहार नयाँ विषय होइन । बालेनलाई गाली गर्ने बहानामा फेरि मधेशी समुदाय र मैथिली भाषामाथि आक्रमण गरिएको छ । मैथिलीमा ‘छौड़ा’ भनेको नेपालीको ‘केटो’ जस्तै हो । यसलाई ‘छाउरा’ भन्दै कुकुरसँग जोड्नु महेश बस्नेतको दरिद्र मानसिकताको उदाहरण हो ।”
उक्त पेजले आफूलाई ‘राष्ट्रिय नेता’ भन्ने व्यक्तिले मैथिली भाषाको अपमान गर्दै स्थापित शब्दलाई कुकुरको संज्ञा दिनु लज्जास्पद भएको उल्लेख गर्दै यो केवल भाषिक अज्ञानता नभई मधेशी अस्मितामाथि गरिएको नियोजित प्रहार भएको दाबी गरेको छ ।
यता, एमाले मधेशका नेता तथा पूर्व केन्द्रीय सदस्य अरविन्द सिंहले पनि बस्नेतको अभिव्यक्तिले पार्टीलाई मधेशमा अप्ठ्यारो पार्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, “यसलाई कसैले सम्झाओस्, नत्र यो फटाहासँगै हाम्रो पार्टीको पनि हिसाबकिताब मधेशका जनताले राम्ररी गर्नेछन् ।”