प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।
नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्य–दृश्य माध्यममार्फत उनले प्रहरी कर्मचारीहरूलाई आगामी निर्वाचनका क्रममा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता र समसामयिक विषयमा निर्देशन दिएका हुन् । महानिरीक्षक कार्कीले प्रत्येक क्षेत्राधिकारी तथा प्रहरी अधिकारीलाई आपराधिक गतिविधि रोकथामका लागि सूचना सङ्कलन गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन जोड दिएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार, उनले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट रोकथाम, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन र फरार प्रतिवादीको पक्राउलाई विशेष प्राथमिकतामा राखी अझ क्रियाशील भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।