२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा चार जोडी श्रीमान्–श्रीमतीले चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेबाट दुई जोडी, भने नेकपा र आम जनता पार्टीबाट एक/एक जोडी निर्वाचनमा प्रतिस्पर्धामा छन् ।
देशभर मंगलबार उम्मेदवारी दर्ता गर्ने क्रममा प्रत्यक्षतर्फ दुवै पहिलो हुने एमालेका रघुवीर महासेठ र जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराए । महासेठले धनुषा–४ र जुलीकुमारी महतोले धनुषा–३ बाट उम्मेदवारी दर्ता गरिन् । महासेठ तीन पटक संघीय सांसद भइसकेका पूर्वमन्त्री हुन् भने जुलीकुमारी पाँचौं पटक निर्वाचनमा होमिएकी छन् ।
सिन्धुपाल्चोकबाट शेरबहादुर तामाङ र उषाकला राई पनि उम्मेदवार बनेका छन् । तामाङले प्रत्यक्षतर्फ सिन्धुपाल्चोक–२ बाट उम्मेदवारी दर्ता गरेका छन् भने श्रीमती राई समानुपातिक सूचीमा चौथो नम्बरमा छन् । तामाङ पूर्व कानुनमन्त्री हुन् र २०७९ मा पराजित भएका थिए। उषाकला राई खोटाङबाट राजनीतिमा सक्रिय थिइन् र कोशी प्रदेशकी प्रदेश सभा सांसद तथा सामाजिक विकासमन्त्री रहिसकेकी छन् ।
नेकपा एमालेका नेता देवेन्द्र पौडेल र उनकी श्रीमती बलावती शर्मा पनि चुनावी प्रतिस्पर्धामा छन् । पौडेल यस पटक नवलपरासी–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने बलावती शर्मा समानुपातिक सूचीमा पहिलो नम्बरमा छिन् ।
पहिलो पटक निर्वाचनमा होमिएका पत्रकार ऋषि धमला र उनकी श्रीमती एलिजा गौतम आम जनता पार्टीबाट प्रतिस्पर्धामा छन् । धमला रौतहट–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने एलिजा गौतम समानुपातिक सूचीमा छिन् ।
दाजुभाइबीचको प्रतिस्पर्धा
डोल्पामा सहोदर दाजुभाइ धनबहादुर बुढा (नेकपा) र कर्णबहादुर बुढा (नेपाली कांग्रेस) चुनावी मैदानमा प्रतिस्पर्धी बनेका छन् । धनबहादुर बुढा यसअघि २०७०, २०७४ र २०७९ मा विजयी भइसकेका छन् भने कर्णबहादुर बुढा पहिलो पटक चुनाव लडेका हुन् ।
त्यस्तै स्वर्गीय दिपक बोहोराका दुई छोराहरू प्रज्वल बोहरा (रुपन्देही–१, राप्रपा) र गौरव बोहरा (रुपन्देही–३, राप्रपा) फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका छन् ।
२१ फागुनमा हुने निर्वाचनमा यी जोडी, दाजुभाइ, र फरक क्षेत्रका उम्मेदवारले राजनीतिक प्रतिस्पर्धा उत्साहपूर्ण बनाउन लागेका छन् ।