चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालले विदेशबाट करिब साढे २० अर्ब रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धान र चामल आयात गरिएको हो ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा यस वर्ष धान तथा चामल आयातमा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढी वृद्धि भएको विभागले जनाएको छ । गत वर्ष पहिलो ६ महिनामा १९ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको आयात भएको थियो। यस आधारमा आयात मूल्य करिब ६.७३ प्रतिशतले बढेको छ ।
चालु आवको पुससम्म ४ अर्ब २७ करोड १२ लाख रुपैयाँ बराबरको बासमती चामल आयात भएको छ, जुन गत वर्षको सोही अवधिमा ३ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ मात्र थियो ।
त्यसैगरी अर्ध–पालिस तथा पूर्ण पालिस गरिएका अन्य चामलको आयातमा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्ष ४ अर्ब ९० करोड ५६ लाख रुपैयाँको आयात भएकोमा यस वर्ष बढेर ६ अर्ब २ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
यद्यपि, प्रशोधित चामल आयात बढे पनि धान आयातमा भने सामान्य गिरावट आएको छ। गत वर्ष पहिलो ६ महिनामा १० अर्ब ४२ करोड ४४ लाख रुपैयाँ बराबरको २७ करोड ५५ लाख किलो धान आयात भएकोमा यस वर्ष घटेर ९ अर्ब ८७ करोड ९ लाख रुपैयाँ र २७ करोड ७ लाख किलोमा सीमित भएको छ ।
बिउका लागि प्रयोग हुने धानको आयात भने यस वर्ष बढेर २२ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा ६० किलो बिउ आयात गर्दा जम्मा ४ हजार रुपैयाँ मात्र खर्च भएको थियो ।
यसैगरी कनिका (टुटेको चामल) को आयातमा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत वर्ष १७ लाख ५४ हजार रुपैयाँ बराबरको कनिका आयात भएकोमा यस वर्ष ५३ लाख ३० हजार किलोभन्दा बढी परिमाणको २२ करोड ७ लाख ६८ हजार रुपैयाँ बराबरको कनिका भित्रिएको छ ।
तथ्यांकअनुसार आयात मूल्य बढे पनि सरकारले संकलन गर्ने राजस्व भने घटेको छ । गत वर्ष धान–चामल आयातबाट १ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष घटेर १ अर्ब ४४ करोड २६ लाख रुपैयाँमा झरेको छ ।
मुलुकभित्र कृषि उत्पादन बढाउने सरकारी नीति रहे पनि मुख्य खाद्यान्नमा परनिर्भरता झन् बढ्दै जानुले अर्थतन्त्रमा थप चुनौती सिर्जना भएको सरोकारवालाहरू बताउँछन् ।