आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी (वसन्त पञ्चमी) हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाएका छन् । यस दिन विद्या र सिर्जनाकी देवी सरस्वतीको विशेष पूजा–आराधना गर्ने परम्परा रहेको छ ।
सूर्य उत्तरायणतर्फ लागी दिन लामो हुन थाल्ने र वसन्त ऋतुको आगमन हुने विश्वासका साथ यस दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।
विद्या, कला र सिर्जनाकी देवी सरस्वतीको विशेष आराधना साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा विद्यार्थीहरूले गर्ने गर्दछन् । यस अवसरमा कलम, कापी, कुची, वाद्ययन्त्र लगायतका साधन सामग्रीलाई सरस्वतीको प्रतीक मानी पूजा गर्ने चलन छ ।
तान्त्रिक परम्परामा सरस्वतीलाई तारादेवीका रूपमा मानिने विश्वास पनि रहेको छ । धार्मिक ग्रन्थअनुसार देवीका भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु लगायत हजारौँ नाम रहेका छन् । ‘सरस्वती कवच’ मन्त्रको जपबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी, शङ्कराचार्य तथा सन्त तुलसीदासले सिद्धि प्राप्त गरेको विश्वास गरिन्छ ।
सरस्वतीलाई विद्या र बुद्धिकी देवी मानिने भएकाले यस दिन विद्यालय नपठाएका साना बालबालिकालाई अक्षराम्भ गराउने परम्परा पनि रहेको छ । श्रीपञ्चमीको दिन अक्षराम्भ गराए विद्या प्राप्त हुने विश्वास छ ।
सोही विश्वासका साथ आज बिहानैदेखि काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।