नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने योजनामा संलग्न रहेको आरोपमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको सुनुवाइ काठमाडौँ जिल्ला अदालतमा सुरु हुँदैछ । जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा मुद्दाको पेसी तोकिएको छ ।
अभियोगपत्र अनुसार, अभियुक्तहरूले नक्कली कागजात तयार गरी संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको आरोप छ । करिब साढे दुई वर्षपछि अदालतले यस मुद्दाको अन्तिम सुनुवाइ गर्न लागेको हो ।
यो मुद्दा १० जेठ २०८० मा दायर भएको थियो । प्रमुख प्रतिवादीमा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र अन्य ३० जना रहेका छन् ।
मुद्दा दायर हुँदा १८ जनालाई थुनामा राखेर पुर्पक्ष सुरु गरिएको थियो भने २ जनालाई धरौटीमा छोडिएको थियो । फरार रहेका केही अभियुक्तहरू पछि पक्राउ परे पनि केही अझै फरार छन् ।
जिल्ला अदालतमा मुद्दाको सुनुवाइ गर्दा पूर्व उपप्रधानमन्त्री रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्व गृहमन्त्री खाँण, तत्कालीन गृहसचिव पाण्डे, संविधानसभा सदस्य आङटावा शेर्पा, थापाका छोरा प्रतीक थापा, सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरज राई लगायतका व्यक्तिहरूको मुद्दा विचाराधीन छ ।
यससँगै मुख्य बिचौलियाद्वय केशव दुलाल र उनकी पत्नी दीपा हुमागाईं, अर्का बिचौलिया सानु भण्डारी र सन्देश शर्मा, साथै गिरोहमा संलग्न अन्य व्यक्तिहरू पनि अदालतमा विचाराधीन छन् । मुद्दामा किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरसमेत समावेश छ ।
अदालतले यसअघि अनुपस्थित साक्षीहरूलाई पनि बकपत्र गराइसकेको छ । मुद्दाको सुनुवाइमा थुनछेक बहस/आदेशबाहेक सबै मुद्दा एकसाथ विचाराधीन हुने छ ।