कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको नतिजा आइतबार साँझ पाँच बजेभित्र सार्वजनिक हुने जानकारी दिएका छन् ।
रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । त्यसमध्ये कोशी प्रदेशको एक पद निर्विरोध भइसकेको छ ।
आयुक्त भण्डारीका अनुसार, “राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । त्यसपछिका दुई घण्टाभित्र, अर्थात् साँझ ५ बजेसम्म नतिजा सार्वजनिक हुने छ । सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ।”
निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखलाई मतदाता राखिएको छ । कोशी प्रदेशमा विराटनगरको कोशी प्रदेश निर्वाचन कार्यालय परिसर, जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, र हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान भइरहेको छ ।
त्यस्तै, गण्डकी प्रदेशमा कास्कीको प्रदेश निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णालीमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिममा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भइरहेको छ ।