नेपालमा न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौँ उपत्यका सहित देशभर मौसम परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भएको जानकारी दिएको छ ।
दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल रहने अनुमान छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
शनिबार देशको पश्चिमी क्षेत्रका विभिन्न जिल्लामा हिमपात पनि भएको थियो। यस वर्षको पहिलो हिमपात हुँदा स्थानीय किसानहरू खुसी भए तापनि दैनिक जीवन प्रभावित भएको थियो ।
काठमाडौँ उपत्यकामा हावाको गुणस्तर खराब रहँदा घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न विज्ञहरूले सल्लाह दिएका छन् । स्विस वायु प्रदूषण मापन एप आइक्यू एअरले काठमाडौँको वायु गुणस्तर अति अस्वस्थकर रहेको जनाएको छ ।