चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३ गतेदेखि सुरु भएको बाघ गणनाको दोस्रो चरणको काम सम्पन्न भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लक बनाएर गणना गरिँदै आएको छ, जसलाई तीन भागमा विभाजन गरिएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार दोस्रो चरणको गणना सकेर क्यामेरा उठाउने काम सुरु गरिएको छ ।
“आजदेखि क्यामेरा उठाउने काम सुरु भएको छ । दुईदेखि तीन दिनभित्र सकिनेछ,” उनले भने, “तालिम प्राप्त १५० जना गणकहरू गणनामा खटिएका छन् ।”
दोस्रो चरणमा १३ वटा क्याम्प स्थापना गरी गणक परिचालन गरिएको थियो । यस अन्तर्गत सौराहा, खगेन्द्रमल्ली हुँदै लोथर–प्रतापपुर, बोटे–सिमारा, स्वमेश्वर, बगई, अम्बुवा हुँदै सिकारीबाससम्मको क्षेत्रमा क्यामेरा जडान गरेर गणना गरिएको थियो ।
उक्त क्षेत्रलाई ३३६ वटा ग्रिडमा विभाजन गरी बाघ गणना गरिएको हो । प्रत्येक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरी बाघको आवागमन र गतिविधि अभिलेख गरिएको थियो ।
सूचना अधिकारी मगरका अनुसार प्रत्येक चरणमा करिब दुई सातासम्म क्यामेरा राखेर गणना गरिनेछ । तेस्रो चरण अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जमा क्यामेरा जडान गरिने छ । दोस्रो चरणमा प्रयोग गरिएका क्यामेरा त्यही क्षेत्रमा स्थानान्तरण गरिने उनले जानकारी दिए ।
चितवन–पर्सा ब्लकमा जम्मा ९५८ वटा ग्रिड बनाएर बाघ गणना भइरहेको छ । प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड मानी गणना गरिएको हो । यससँगै बाघ पाइने बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि समानान्तर रूपमा बाघ गणना भइरहेको छ ।
तीन महिनाको अवधिमा बाघ गणना सम्पन्न गरिने सूचना अधिकारी मगरले बताए ।
नेपालमा प्रत्येक चार वर्षमा एकपटक बाघ गणना गरिँदै आएको छ । यस कार्यमा निकुञ्जका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, स्थानीय स्वयंसेवी, विद्यार्थी तथा संरक्षण साझेदारहरू सहभागी छन्। ग्रिडको बीचभागमा पर्ने स्थानमा प्राविधिक क्याम्प स्थापना गरी गणकहरू बस्ने गरेका छन् ।
गणकहरूले भूगोलअनुसार आठदेखि बाह्रवटा ग्रिडमा जडान गरिएका क्यामेराको दैनिक अनुगमन गर्ने गरेका छन् ।
“ग्रिडबाट क्यामेरा निकालेपछि तथ्यांक अध्ययन सुरु गरिनेछ । बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेरा राखिन्छ, जसले बाघको तस्बिर खिच्छ,” मगरले भने ।
बाघको शरीरमा रहेका पाटाका आधारमा तस्बिर विश्लेषण गरी सङ्ख्या निर्धारण गरिन्छ ।
यसअघि सन् २०२२ मा गरिएको बाघ गणनाअनुसार नेपालमा ३५५ वयस्क बाघ रहेका थिए । सो गणनामा चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ भेटिएका थिए ।