आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको समूह चरणबाट नेपाल बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा आज सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
जितका लागि १४१ रनको लक्ष्य पछ्याएको नेपालले १३ दशमलव ५ ओभरमै सबै विकेट गुमाउँदै ६८ रनमै समेटियो। नेपालका लागि रोमा थापाले अविजित १४ रन बनाइन् । त्यस्तै, विन्दु रावलले १४ तथा रुविना क्षेत्रीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्यान्डका लागि अब्ताहा मकसुदले सर्वाधिक तीन विकेट लिइन् । क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले समान दुई–दुई विकेट लिए। साथै, राहेल स्लेटर र ओलिभिया बेलले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रनको योगफल बनाएको थियो। स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४५ रन बनाइन् । एल्सा लिस्टरले २२, सारा ब्राइसले १८, मेगन म्याककोलले १७ तथा राहेल स्लेटरले ११ रनको योगदान दिए ।
नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन् भने रुविना क्षेत्रीले तीन विकेट लिइन्। त्यस्तै, रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक–एक विकेट लिए ।
यस हारसँगै चार खेल खेलेको नेपालले एक खेलमा जित तथा बाँकी खेलमा पराजय भोग्दै दुई अंकमा सीमित रह्यो। नेपाल समूह ‘बी’ को चौथो स्थानमा रह्यो । चार खेलबाट चार अंक जोडेको स्कटल्यान्ड भने सुपर सिक्स चरणमा प्रवेश गरेको छ ।