महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको खबरले देश शोकमा डुबेको छ ।
नागरिक उड्डयन महानिर्देशालयका अनुसार बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा पवारसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको हो । बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो ।
दुर्घटनापछि विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए । घटनाप्रति विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन् । शिवसेना (युबिटी) का सांसद अरविन्द सावन्तले यस घटनालाई ‘अत्यन्त दुःखद’ भन्दै पवार परिवारप्रति समवेदना प्रकट गरे । उनले बारामती क्षेत्रको विकासमा अजित पवारको योगदान स्मरण गर्दै उनलाई साहसी र प्रतिबद्ध नेता भएको बताए ।
शिवसेना (युबिटी) की सांसद प्रियङ्का चतुर्वेदीले पनि समाचारलाई स्तब्ध र हृदयविदारक बताउँदै मतभेद भए पनि सँगै काम गरेको अनुभव स्मरण गरिन् । उनले पवार परिवार तथा बारामतीका जनताप्रति सहानुभूति व्यक्त गरिन् । प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ । विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि पवारको निधनमा शोक व्यक्त गरेका छन् ।
अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा थिए । उनी फरक–फरक समय र विभिन्न सरकारहरूमा सबैभन्दा लामो अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेताका रूपमा परिचित थिए ।
पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे तथा एकनाथ सिन्दे नेतृत्वका सरकारहरूमा उनले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमती सुनेत्रा पवार तथा छोराहरू जय र पार्थ पवार छन् ।