चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको खुद नाफा ११.५१ प्रतिशतले वृद्धि भएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकहरूले यस अवधिमा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूको कुल नाफा २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
अर्थतन्त्रमा देखिएको सुस्तता, बढ्दो खराब कर्जा र कर्जा प्रवाहमा आएको संकुचनका बाबजुद पनि बैंकहरूले दोहोरो अंकको नाफा वृद्धि कायम राख्न सफल भएका हुन् । विवरणअनुसार २० वाणिज्य बैंकमध्ये ११ बैंकको नाफा बढेको छ भने ८ बैंकको नाफा घटेको छ । एक बैंक भने नोक्सानमा रहेको छ ।
नाफामा नबिल बैंकको अग्रता
यस अवधिमा नाफाको आधारमा नबिल बैंक अग्र स्थानमा रहेको छ । बैंकले पुस मसान्तसम्म ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ४६.७१ प्रतिशतले बढी हो ।
केही समयअघि नयाँ नेतृत्व पाएको नबिल बैंकले पहिलो वित्तीय प्रतिवेदनमै उत्साहजनक प्रदर्शन गरेको देखिएको छ । बैंकको ४१औँ साधारणसभाबाट निर्वाण चौधरी अध्यक्ष नियुक्त भएका छन् भने पूर्व सीईओ अनिलकेशरी शाह सञ्चालकका रूपमा आएका छन् ।
दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक
नाफाको आधारमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले यस अवधिमा ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ६.५० प्रतिशतले बढी हो । मर्जरपछिको ठूलो संरचनालाई व्यवस्थापन गर्दै नाफामा स्थिरता कायम राख्नु बैंकको प्रमुख उपलब्धि मानिएको छ ।
कुमारी बैंकको उल्लेखनीय सुधार
यस अवधिमा सबैभन्दा धेरै प्रतिशतले नाफा वृद्धि गर्ने बैंक कुमारी बैंक बनेको छ । गत वर्ष पुससम्म २७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष ८८६.५० प्रतिशतको वृद्धि गर्दै २ अर्ब ७२ करोड रुपैयाँ नाफा पुर्याएको छ ।
खराब कर्जाको वृद्धि नियन्त्रणमा आउनु तथा इम्पेरिमेन्ट चार्ज घट्नु नाफा सुधारको मुख्य कारण रहेको छ । यससँगै कुमारी बैंक सर्वाधिक नाफा कमाउने सूचीमा तेस्रो स्थानमा उक्लिएको छ ।
सरकारी बैंकहरूको प्रभावकारी प्रदर्शन
सरकारी स्वामित्वका बैंकहरूले पनि उल्लेखनीय सुधार देखाएका छन् । नेपाल बैंकले १८३.०४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले १३२.०४ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।
पुराना खराब कर्जा असुली तथा सञ्चालन खर्च कटौतीले यी बैंकहरूको नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ ।
अन्य बैंकहरूको प्रदर्शन
सिद्धार्थ बैंकले १५० प्रतिशत सुधार गर्दै १ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको छ । माछापुच्छ्रे बैंकले २५.२५ प्रतिशत, सानिमा बैंकले १६.६७ प्रतिशत, नेपाल एसबीआई बैंकले १४.५६ प्रतिशत, प्राइम कमर्सियल बैंकले ९.२७ प्रतिशत र एभरेस्ट बैंकले २.०४ प्रतिशत नाफा वृद्धि गरेका छन् ।
आठ बैंकको नाफा घट्यो, एक बैंक नोक्सानमा
२० वाणिज्य बैंकमध्ये ८ बैंकको खुद नाफा घटेको छ । सिटिजन्स बैंक इन्टरनेशनलको ४५.७८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४३.०५ प्रतिशत र प्रभु बैंकको २४.०८ प्रतिशतले नाफा घटेको छ ।
त्यसैगरी कृषि विकास बैंकको २६.१२ प्रतिशत, एनएमबि बैंकको १७.१७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १६.२९ प्रतिशत, हिमालयन बैंकको १४.८९ प्रतिशत र एनआईसी एशिया बैंकको १३.५४ प्रतिशत नाफा घटेको छ ।
यस अवधिमा लक्ष्मी सनराइज बैंक भने नोक्सानमा गएको छ । गत वर्ष १ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको बैंक चालू आवको छ महिनामा २७ करोड ३६ लाख रुपैयाँ नोक्सानमा पुगेको हो । इम्पेरिमेन्ट चार्जका लागि ४ अर्ब ४७ करोड रुपैयाँ छुट्याउनुपर्दा बैंक नोक्सानमा गएको हो ।
अर्थतन्त्रको प्रभाव
बढ्दो खराब कर्जा, कर्जाको मागमा कमी र ब्याजदर अन्तर घट्दै जानुले बैंकहरूको आम्दानीमा दबाब सिर्जना गरेको छ । अर्थतन्त्रको शिथिलताका कारण ऋणीहरूले समयमा सावाँ–ब्याज तिर्न नसक्दा निष्क्रिय कर्जा बढेको छ, जसले प्रोभिजनिङ खर्च बढाएको छ ।
यद्यपि बजारमा तरलता पर्याप्त भए पनि नयाँ लगानीका क्षेत्रहरू नखुल्दा कर्जा प्रवाह सुस्त रहेको छ । राष्ट्र बैंकको कसिलो नीतिका कारण स्प्रेड दर घट्दै जाँदा बैंकहरूको मुख्य आम्दानी स्रोत प्रभावित भएको देखिन्छ ।