राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन शाहको राजधानीको मण्डिखाटारस्थित निवासमा चोरी भएको छ ।
बालेन शाह र उनकी पत्नी हाल घरबाहिर रहेको समयमा चोरी भएको हो । शुक्रबार साँझ बालेनका मामा ससुराका छोराले घर पुग्दा चोरी भएको पत्ता लागेको हो । उनी नियमित रूपमा घरमा बत्ती बाल्ने–निभाउने तथा बिरुवामा पानी हाल्ने काम गर्दै आएका थिए ।
शुक्रबार साँझ घर पुग्दा मुख्य ढोका फोडिएको र घरभित्रका सामानहरू तितरबितर अवस्थामा रहेको देखेपछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार चोरहरूले घरमा जडान गरिएका २–३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डीभीआर मेसिन तथा बाथरुम र भान्साका धाराका टुटीहरू समेत चोरी गरेका छन् । अन्य सामान चोरी भएको–नभएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानमा खटिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सिसीटिभी फुटेज तथा अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो घटना ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
घटना गत १४ गतेदेखि हिजो साँझको बीचमा भएको हुन सक्ने अनुमान गरिएको छ । हाल प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शंकास्पद व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको जनाएको छ ।